Logo
Logo

सँगै स्वर्ग जाने कुरा


756
Shares

गत हप्ताको सोमबार बिहान ओली र प्रचण्ड बालुवाटारको बार्दलीमा टुप्लुक्क देखापरे । त्यतिबेलासम्म ओलीले काखमा राखेर रेटेको कुराको सुइँकोसम्म प्रचण्डले पाएका थिएनन् । प्रचण्डको ‘मुड’ बुझ्न बालुवाटार पुगेका ओलीले रमाइला–रमाइला गफ गरेर प्रचण्डलाई पाँचै वर्ष ढुक्क रहन आश्वस्त पारे ।

हिँड्ने बेला फेरि प्रचण्ड भड्किने हो कि भनेर ओलीले ढुक्क हुनोस्, स्वर्ग नर्क जहाँ जानु परे पनि सँगै जाउला भनेर ढाडस दिए । जब सोमबार मध्यराति ओली र देउवाबीच नयाँ गठबन्धन बनाउने सहमति बन्यो, तब प्रचण्ड निद्राबाट ब्युँझिदै भने– बिहान स्वर्ग नर्क जहाँ जानु परे पनि सँगै जाउला भनेको मान्छे रातारात मलाई एक्लै नर्कमा छाडेर स्वर्ग पुगेछन् । पदाधिकारी बैठकमा प्रचण्डले यसो भनिरहँदा नारायणकाजी श्रेष्ठ पेट मिचिमिची हाँसे ।

दाल मे कुछ काला
केही दिनअघि संसद् भवनबाट बाहिरिँदा पत्रकारहरूले ओलीसँग प्रश्न गरे– तपाईँ प्रधानमन्त्री हुने हल्ला छ, के हो ? मुसुमुसु हाँस्दै ओलीले भने ‘यो साल त होइन, अर्को साल हुन्छु कि ?

अहिले नै कुरा फुत्कियो भने प्रचण्ड ‘बहुलाउला’ भनेर पत्रकारहरूसँग लामो कुरा गरेनन् । यत्ति भनेर फटाफट हाँस्दै गाडीभित्र छिरे । ओलीको मुड देखेर पक्कै पनि ‘दाल मे कुछ काला है’ भन्दै ऋषि धमला ट्वाँ परे ।

यस्तो पनि हुँदो रहेछ…
बुधवार एमालेका मन्त्रीहरू राजीनामा बोकेर बालुवाटार पुगे । प्रधानमन्त्रीसँग अन्तिमपटक सामूहिक फोटो पनि खिचे । ओलीको जालमा परेर माछोझैँ छट्पटिएका प्रचण्डले लामो सुस्केरा हाल्दै एमालेका मन्त्रीहरूलाई फत्तेमानको गीत सुनाए ।

‘यस्तो पनि हुँदोरहेछ, जिन्दगीमा कहिलेकाहीँ, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले ।’ प्रचण्डको गीत सुनेर रघुवीर महासेठ मुर्छा पर्ने गरी हाँसे ।

कसो गगन थापाज्यू ?
सत्ताबाट खुस्कँदै गर्दा कांग्रेसले सानेपामा गिरिजाबाबुको तस्बिर प्रदर्शनी आयोजना गरेको थियो । प्रचण्ड पनि करबलले फोटो हेर्न सानेपा पुगेका थिए ।

फोटो हेर्दै जाँदा गिरिजासँग शान्ति वार्ताको फोटो देखेर प्रचण्ड भावुक भए, मनमनै सोचे होलान– गिरिजाबाबु बाँचेको भए यो देउवालाई देखाइदिन्थे, के गर्नु गिरिजाबाबु जानु भो, मेरो यो हालत भयो । कसो, गगन थापाज्यू ?

स्वर्णिम वाग्ले ट्वाँ
ठूला भ्रष्टाचारका फाइल खोल्ने प्रतिबद्धता जाहेर गर्दैगर्दा बेचन झा पक्राउ परे । बेचन झा पक्राउले बेचैनी बनेकी आरजु देउवा भोलिपल्ट अर्थात् असार १५ गतेको साइत पारेर बालकोट पुगिन ।

बालकोटमा २ घण्टाजति कुराकानी भइसकेपछि ओलीले आरजुको बेचैनी बुझे । त्यसपछि संविधान जोगाउने नाममा कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेपछि गृहमन्त्री रवि लामिछाने छाँगोबाट खसेजस्तो भए । पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले संविधान जोगाउन हो कि अपराध लुकाउन यो समीकरण बनेको हो, जनताले थाहा पाइसकेका छन् भन्दा डा. स्वर्णिम वाग्ले ट्वाँ परे ।

प्रतिक्रिया दिनुहोस्