Logo
Logo

एसपी गैरेविरुद्ध उजुरीको चाङ


8.3k
Shares

काठमाडौं ।सिराहाका विभिन्न नाकाबाट तस्करी बढेको भन्दै गृह मन्त्रालय र हेलो सरकारमा उजुरी परे पनि सशस्त्र प्रहरी मुख्यालयले वेवास्ता गरेको छ । सिराहाका एसपी शिव गैरेविरुद्ध उजुरी परेको हो । छिन्नमस्ता बाहिनीमा तीन पटक आएर उनले बयान दिइसकेका छन् । तर, मुख्यालयले उनको विषयमा कुनै छानबिन गरेको छैन ।

एसपी गैरे सिराहा पुगेको तीन महिनामै त्यहाँका नबराजपुर, बरियारपट्टी, इनर्बा, इट्टाटारको नाका राती खुला गरेको आरोपमा कारबाहीको माग गर्दै उजुरी परेको थियो । दिउँसो कडा गरेको जस्तो गर्ने र राती खुला गरेपछि स्थानीय व्यापारीहरूले उनीविरुद्ध उजुरी गरेका हुन् । स्थानीय व्यापारीहरूको दैनिक उपभोग्य सामान बिक्री नभएपछि उनीहरूले ती नाकामा निगरानी गर्दा व्यापक तस्करी भएको पाएका थिए ।

स्रोतका अनुसार भारतबाट कपडा, खाद्यान्न तथा हार्डवेयरको सामानहरू तस्करी भएर नेपाल आउने गरेको छ । नेपालबाट मदिरा, फलफूल, गाई,गोरु, चुरेको गिटी बालुवा तस्करी हुने गरेको छ । सिराहा विवादित जिल्ला भएकाले लत्ताकपडा तस्करीको आरोपमा यसअघि प्रमोद भारती, रामहरी खड्का कारबाहीमा परिसकेका छन् ।

उनीहरू कारबाहीमा परेको दृष्टान्त हुँदाहुँदै पनि एसपी गैरेले राती नाका खुलाएको र त्यहाँबाट अतिरिक्त आम्दानी बुझेको आरोप लागेको छ । मुख्यालयले हेलो सरकारको उजुरीलाई भने गम्भीरतापूर्वक लिएको जनाएको छ ।

स्रोतका अनुसार तस्करीको सामान गोलबजारसम्म आउँछ । त्यसमा मिर्चैया, लाहान बेशका कमान्डरसमेत लाइन लिने गरेका छन् । पछिल्लो समय सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरूले खाद्य सामाग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको छ ।

स्थानीय व्यापारीहरूका अनुसार सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) र सँगै नेपाल प्रहरी पनि छ ।

स्थानीयका अनुसार झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् ।

चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीको सहयोगका लागि भन्सार परिसरमै इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी तैनाथ गरिए पनि त्यहीबाट मिलेमतो हुने गरेको छ । व्यापारीहरूका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ ।

दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरूो दाबी छ । यस्तै लत्ताकपडा, मोटर पाटर््स, खाद्य सामान, प्रतिबन्धित कुखुरा, सेतो अण्डा तस्करले सेटिङमा ल्याउने गरेका छन् ।

अर्कोतिर सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको स्थानीय बताउँछन् ।

महोत्तरीको रघुनाथपुरबाट डिएसपी सुनिल गिरीलाई बाहिनी तानिएको छ । आइतबार उनलाई तस्करीलाई सहयोग पुर्याएको आरोपमा बाहिनी तानिएको हो । त्यहाँ अर्का डिएसपीलाई पठाइएको छ । महोत्तरी पनि तस्करीको हब बन्दै गएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्