Logo
Logo

भजनीबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य, १० वर्षसम्म बनेन् पुल



  • हिक्मत बम

धनगढी । राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकअन्तर्गत कैलालीको कान्द्रा नदीमा पुलको ठेक्का भएको १० वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

पुल निर्माण हुन नसक्दा कैलालीको दक्षिणी क्षेत्रका नागरिकको कष्टकर जीवनयानपन गर्नुपरिरेहको छ । कान्द्रा नदीमा ३० महिनामा पुल बनाउने भन्दै लामा, साल्पा-शेर्पा र बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का पाएको थियो ।

डिजाइन नमिलेको भन्दै सुरुवाती ३० महिना त काम नै भएन । पहिलो पटकको सम्झौता अनुसार २०७० मंसिर ३० गते सम्म पुल तयार हुनुपर्ने थियो । तर, त्यसपछि पनि पटकपटक समय थप गर्दा पनि अहिलेसम्म पुल निर्माण भएको छैन ।

२०७२ मा डिजाइन परिवर्तन गरेर पुसबाट पुनः ३० महिनाभित्र पुल निर्माण सम्पन्न गरिसक्ने बताइएको थियो । दोस्रो पटक थप गरिएको समय २०७५ असार २५ गते सकिएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर पदमबहादुर मडैले जानकारी दिए ।

उनले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा टेकेर थप एक वर्ष समय थपेको बताए । तरपनि अहिलेसम्म पुल निमार्ण हुन सकेको छैन । उक्त समय अवधिमा ३० प्रतिशत मात्रै काम भएको मडैले जानकारी दिए ।

सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन अनुसार कम्पनीले २०७७ फागुन १ गते सम्म पुल तयार गर्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले अहिलेसम्म पनि पुल निर्माण हुन सकेको छैन ।

ठेकेदारले कोरोना महामारीका कारण पुल निर्माण गर्न नसकिएको बताएपछि पुनः ६ महिना थप गरिएको छ । अन्तिमपटक थप दिइएको समय अवधि यहीँ साउन मसान्तमा सकिँदैछ ।

हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैका अनुसार हाल पुल निर्माणको काम ७१ प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनीले फेरि ६ महिना समय माग गरेको उनले बताए ।

‘दोस्रो लहरको कोरोनाका कारण काम प्रभावित भएको भन्दै पुनः ६ महिना समय माग गरिएको छ,’ उनले भने, ‘यो अन्तिम समय हो । यो समयमा काम सम्पन्न नभए जरिवाना तिरेर पनि काम पूरा गर्नुपर्छ । नत्र कालो सूचीमा राखिन्छ ।’

डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भजनीबासी

कुल चार करोड ४३ रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले म्याद पटकपटक थप गर्दा पनि पुल निर्माण गर्न नसकेपछि भजनी नगरपालिका– ३, ४, ५ र ८ का वासिन्दाले आवतजावतमा सास्ती भोग्नुपरेको छ ।

पक्की पुलमा सुरक्षित ढंगले यात्रा गर्ने यहाँका नागरिकको रहर एक दशकसम्म पनि पूरा भएको छैन । पक्की पुल नहुँदा डुंगामा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय आरती चौधरीले बताइन् । उनले भनिन्, ‘पुल नहुँदा सबैभन्दा बढी वर्षामा दुःख झेल्नुपरेको छ, यो बेला हामी ज्यानको बाजी लगाएर डुंगामा वारपार गर्छौं ।’

हिउँदमा काठे पुलहरू प्रयोग गरिँदै आएको थियो । तर वर्षात् याममा उक्त पुल पनि बाढीले बगाइदिएको छ । जसले गर्दा भजनीबासीहरु डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘पुल नभएकोले हामीलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ,’ स्थानीय सीताराम चौधरीले भने, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुंगा चढ्नु निकै दुःख छ । ’बिरामी पर्दा पनि डुंगाको सहाराले नदी तरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

ठेकेदार र हुलाकी कार्यालयको लापरबाहीले पुल निर्माण हुन नसकेको भजनी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीको आरोप छ । वडा कार्यालयबाट आफूहरूले पुल निर्माणका लागि समन्वय गर्दा पनि हालसम्म निर्माणको काम अधुरै रहेको उनले बताए ।

निर्माण कम्पनी कालो सूचीमा

एक दशक पहिले लामा, साल्पा–शेर्पा र बिरुवा जेभीले कन्द्रा पुलको ठेक्का पाएका थिए । उक्त निर्माण कम्पनीले ठेक्का पाएपछि पुल निर्माणको काम पेटी ठेक्कममार्फत विकास झाले गर्दै आएका थिए ।

उनले २०६७ सालसम्म उक्त पुल निर्माणको काम गरिरहेका थिए । निर्माणमा प्रगति नभएपछि ठेक्का पाएकामध्ये बिरुवा जेभीले त्यसयता काम गर्दै आइरहेको छ । अन्य दुई निर्माण कम्पनीमध्ये लामा कालो सूचीमा परिसकेको छ भने साल्पा–शेर्पा खरिद बिक्री भइसकेको छ ।

डोल्पा–१ बाट प्रतिनिधिसभामा निर्वाचित एमालेका सांसद धनबहादुर बुढाले साल्पा–शेर्पालाई हिमाली निर्माण सेवा बनाएका छन् । उनी केपी ओली नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्रीसमेत बनेका थिए ।

दुबै साझेदार निर्माण कम्पनीले हात झिकेपछि बिरुवा जेभीले आफै काम थालेको हो । ‘हामीले निकै ताकेता गरेपछि निर्माणको ठेक्का पाएकाबाटै निर्माण कार्य भइरहेको छ,’ हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैले भने, ‘अहिले पनि हामीले चासो दिइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्