Logo
Logo

यादव समूह सरकारमा जाँदै, ठाकुर समूह दल दर्ताको तयारीमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्रथम केन्द्रीय समिति बैठक शुरु भएको छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि बसेको यो पहिलो बैठक हो । समसामयिक राजनीति तथा पार्टी सुदृढीकरण अभियान लगायतका बैठकका एजेण्डा रहेका छन् ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले समसामयिक राजनीतिक परिस्थित, सरकारमा सहभागि, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण लगायत बैठकको एजेण्डा रहेको बताएका छन् । बैठकमा सचिवालय गठन गर्ने विषयमा समेत छलफल हुनेछ । उक्त समिति ७ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।

ठाकुर समूह दल दर्ताको तयारीमा
जसपाको आधिकारिक समूह सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला आधिकारिकता नपाएका नेता महन्थ ठाकुर–राजेन्द्र महतो समूहको बैठक बबरमहलमा बसिरहेको छ । तत्कालिन राजपा नेपालको केन्द्रीय कार्यालय रहेको बबरमहलस्थित मधेस भवनमा ठाकुर, महतो समूहको कार्यकारिणी समिति बैठक जारी छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नयाँ दल गठनको बिषयमा छलफल गर्नका बैठक बोलाइएको नेताहरुले बताएका छन् । आजै ठाकुर समूहका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

ठाकुर, महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत नेताले प्रधानमन्त्री देउवालाई भेटेर राजनीतिक दलसम्बन्धी अध्यादेशको बिषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे छलफल भएको नेता भण्डारीले बताए ।

भेटमा जसपाका नेताले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्