Logo
Logo

आइजिपी निरीक्षणमा, गृहमन्त्री छड्केमा ?



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री गत साता निरीक्षणमा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ मा निस्किए । प्रहरी नेतृत्व सम्हालेको करिब एक वर्षपछि उनी यसरी लामो भ्रमणमा निस्किएका हुन् ।

उक्त प्रदेशमा निर्देशनदेखि उद्घाटनसम्मका योजना बनाएर उनी निस्किएका थिए । प्रहरी महानिरीक्षक यसरी निरीक्षणमा निस्कदा गृहमन्त्री बालकृष्ण खाण भने ‘टेलिफोन छड्के’ मा सक्रिय भए । गृह मन्त्रालयबाट गोरखा लगायत विभिन्न जिल्लाका एसपीलाई फोन गरेर उनले त्यहाँको अवस्था बारे बुझेका थिए । त्यसअघि सुदुरपश्चिम प्रदेशको तालिम केन्द्रमा फोन गरेर उनले सोधपुछ गरेका थिए ।

यो घटनाले कतै गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच तालमेल नमिलेको त होइन भन्ने प्रश्न प्रहरीमा उठेको छ । सुरक्षा निकायमा चेन अफ कमाण्ड महत्वपूर्ण हुन्छ । गृहमन्त्रीले प्रहरी महानिरीक्षकबाट नै संगठनको बारेमा जानकारी लिनुपर्ने हुन्छ । तर, महानिरीक्षकलाई जनकारी नदिई छड्के शैलीमा प्रहरी कार्यालयमा फोन गरेको घटनालाई कतिपयले अनौठो मानेका छन् ।

त्यसो त कांग्रेस नेतृत्वको सरकार आउने बित्तिकै प्रहरीमाथि हस्तक्षेप सुरु भएको थियो । ओली सरकारले गरेको एआइजी सरुवासम्बन्धि निर्णय समेत कार्यान्वायनमा रोक लगाइएको थियो । जसकारण एआइजी सहकुल थापाले एक महिनादेखि जिम्मेवारी पाएका छैनन् । अन्य एआइजीहरु समेत संशकित बनेका छन् ।

त्यसो कांग्रेसले अर्थ मन्त्रालय माओवादीलाई छाडेर गृह मन्त्रालय लिनुलाई पनि निकै अर्थपूर्ण मानिएको छ । यही सरकारले आगामी चुनावहरु गराउने र त्यसका लागि प्रहरीलाई आफू अनुकुल चलाउने कांग्रेसको रणनीति देखिन्छ । जसले गर्दा प्रहरीमा सरकारको हस्तक्षेप बिस्तारै बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्