Logo
Logo

काबुलमा आक्रमण हुन सक्ने अमेरिका र बेलायतको चेतावनी


एजेन्सी


काबुल । अफगानिस्तानमा पछिल्लो राजनीतिक घटना क्रमसँगै देश छाड्न चाहने मानिसहरुको काबुल विमानस्थलमा भीड लागेको छ । यसैबेला अमेरिका र बेलायतले अफगानिस्तानस्थित काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् । विद्रोही तालिबानले काबुल कब्जा गरेपछि विभिन्न देशका नागरिकले अफगानिस्तान छाड्ने क्रम जारी छ ।

विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ ।

यसअघि बेलायतले यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेको थियो । बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

अमेरिका, बेलायत, भारतलगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्