Logo
Logo

मुख्यमन्त्री राउतद्वारा दुई मन्त्रीको जिम्मेवारी हेरफेर




काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । भोली (सोमबार) देखी लागु हुने गरी आज दुई मन्त्रीको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री रहेका विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मुख्यमन्त्री राउत र मन्त्री यादव बीच प्रदेश सरकार गठन देखी नै विवाद हुदैआएको छ । यादवले मुख्यमन्त्रीमा दावी गर्दै आएका थिए । तर तत्कालिन संघीय समाजवादी पार्टीको उपाध्यक्ष समेत रहेका राउत मुख्यमन्त्री बनेपछि यादवलाई महत्वपुर्ण मानिएको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

आर्थिक मन्त्रालयको जिम्मेवारीमा रहेका यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आएकाले उनलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उच्च स्रोतका अनुसार हालै सार्वजनिक गरिएको बजेटमा समेत मन्त्री यादवले मुख्यमन्त्रीको रायसल्लाह अस्वीकार गर्दै अगाडी बढेका थिए ।

आर्थिक मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले मन्त्रीको जिम्मेवारी हेरफेर भएको स्वीकार गरेका छन् । मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेर गरेको बताउँदै उनले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखी सम्हाल्ने बताए ।

मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेर गर्नु अघि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसंग समेत यस बिषयमा छलफल गरेका थिए । पार्टीभित्र छलफल गरेरै मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्