Logo
Logo

मधेसको मसिहा ठान्नेले शहीदको लासमाथि व्यापार गरे : गुप्ता



काठमाडौं । मधेसी जनअधिकार फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले आफूलाई मधेसको मसिहा दावी गर्ने केही नेताले शहीदको लासमाथि व्यापार गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंको हनुमानथानस्थित मधेस मिडिया हाउसमा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष गुप्ताले मधेस आन्दोलनका शहीदको लास माथि व्यापार गर्दैे केहीले सत्ताको सुख भोगिरहेको आरोप लगाएका हुन् ।

मधेस केन्द्रित दलका केही नेताले शहीदको लासको मोलमोलाई गरेर मन्त्री पदसँग साटफेर गरेको समेत उनले आरोप लगाए । उनले भने, ‘उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरु मधेस अन्दोलनको मुद्धा छोडिसकेका छन् । मधेस आन्दोलनको शहीदको लासको व्यापार गर्ने यिनीहरु आपराधी हुन् ।’ गुप्ताले भने,‘ ‘शहीदको लासको मोलमोलाई गरेर मन्त्री पदसंग साटफेर गर्ने व्यापारी मात्रै हुन् ।’

आत्मनिर्णय सहितको समग्र मधेस स्वायत प्रदेश हुनुपर्ने मधेस आन्दोलनमा मुख्य माग भए पनि यो माग उनीरूले छोडिसकेको गुप्ताको गुनासो थियो । मधेस आन्दोलनको मुख्यमाग आफूले छोड्न नसकेको कारण उनीहरु जस्तो राजकीय सुख भोग्न नपाएको तर्क उनको थियो ।

मधेसको मसिहा बताउनेले आन्दोलनको मुख्य माग छोडिसकेका कारण अहिले मधेसलाई ६ प्रदेशमा विभाजन गरिएको उनको दावी थियो । तत्कालिन फोरमका संस्थापक वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले वर्तमान संविधानको खारेजीको माग समेत गरेका छन् ।

सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको प्रति उनले आपत्ति समेत जनाए । एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउँदै उनले अहिले सत्तारुढ र प्रतिपक्षी सबै दल मिलेर नेपाललाई रणभूमि बनाउन लागेको आरोप लगाए ।

‘चोर–चोर मौसेरा भाई भएका छन् । एमसीसी सम्झौताको बारेमा सबै मिलेर संसदबाट पारित गर्ने तयारी गरेका छन् । सत्तामा रहेका दल होस या प्रतिपक्षमा रहेका दल सबैको चाहना नेपाललाई रणभुमी बनाउँने नै हो’ गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्