Logo
Logo

माओवादीले २ लाख ८५ हजार नेता निर्वाचनबाट चुन्दै



काठमाडौं । युद्ध छोडेर संसदीय राजीतिमा आएको माओवादीले झण्डै दुई दशकपछि पार्टी संगठनमा निर्वाचित हुने प्रकृया परिवर्तन गरेको छ । अहिलेसम्म सहमतिकै आधारमा नेतृत्व चयन गर्दै आएको माओवादीले अब वडादेखी केन्द्रीय समितिसम्मका सबै तहका नेतृत्व लोकतान्त्रिक चयन गर्ने भएको छ ।

माओवादी केन्द्रले अगामी ११ देखी १३ पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसभन्दा अघि वडा, पालिका, क्षेत्र, जिल्ला तथा प्रदेश समितिहरुको नेतृत्व चयन गर्ने तयारी गरेकाे छ । यस पटक माओवादीले सबै कमिटीमा निर्वाचन प्रकृयाबाट नै नेतृत्व चयन गर्ने भएको छ । अर्थात मतदान प्रकृयाबाट नेता चुन्नेछ ।

माओवादी केन्द्रले हालै विधान संशोधन गर्दै सबै तहका समितिका नेतृत्व निर्वाचनमार्फत चयन हुनुपर्ने कार्यविधि बनाएको छ । यस अघि माओवादी केन्द्रमा नेतृत्व चयन गर्दा निर्वाचनलाई महत्व दिइदैन्थ्यो । अब केन्द्रदेखी वडा सम्मका २ लाख ८५ हजारभन्दा बढी पदमा नेताहरु मतदान प्रकृयाबाट निर्वाचित हुनुपर्ने छ ।

माओवादी केन्द्रले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले वडादेखी केन्द्रसम्मका नेतृत्व निर्वाचनमार्फत निर्वाचित हुने बिषयमा छलफल गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले तयार गरेको निर्वाचन कार्यविधिको बारेमा सोमबार भर्चुअल माध्यमबाट जानकारी गराएका छन् ।

छलफलमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे सहभागिहरुलाई जानकारी गराएका थिए । छलफलमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच/पाँच जना सहभागी रहेका थिए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले पार्टीलाई लोकतान्त्रिककरण गर्न, विधि, पद्धति एवं प्रक्रियाद्धारा सञ्चालन गर्दै पार्टीलाई थप बलियो बनाउँनका लागि निर्वाचन प्रक्रिया अवलम्बन गरिएको बताए । ‘अब केन्द्रदेखी वडासम्म निर्वाचन आयोग र निर्वाचन समितिले निर्वाचन गराउँदै नेतृत्व चयन गर्नेछ’ साहले भने, ‘सर्वसम्मत नेतृत्व चयन भए ठिकै छ नभए लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चुनिनुपर्छ ।’

केन्द्रीय समिति कस्तो हुने ?
माओवादी केन्द्रले अगामी ११ देखी १३ पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसअघि प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहको अधिवेशन हुनेछ । केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन भएर आउँनेछन् । केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय समितिको महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउँने छ ।

केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो, पोलिट्व्यूरोको कुल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति, दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने छ । यस्तै केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव समेतको एक केन्द्रीय सचिवालय रहने माओवादी केन्द्रले संशोधित विधानमा व्यवस्था गरेको छ ।

केन्द्रीय निकायहरु यस्ता हुन्छन् ?
पार्टीका केन्द्रीय निकायहरूमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने व्यवस्था विधानमा गरिएको छ । प्रदेश, जिल्ला तथा पालिका स्तरमा आवश्यक्ता अनुसार यस्ता निकाय तथा विभागहरु सम्बन्धीत समितिले निर्माण गर्ने छ । केन्द्रीय समितिले केन्द्रमा विभिन्न विभागहरु गठन गर्ने उल्लेख गरिएको छ ।

प्रदेश समिति कस्तो हुने ?
माओवादी केन्द्रले सात भौगोलिक प्रदेश समितिका साथै उपत्यका विशेष समिति, सम्पर्क समन्वय समिति र प्रवास समिति सहित १० वटा प्रदेश कमिटी निर्माण गर्नेछ । प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहित बढीमा १७५ सदस्यी रहनेछन् । उक्त प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय समिति सदस्यहरु पदेन रहने व्यवस्था गरिएको छ ।

स्थानीय समितिहरु
माओवादी केन्द्रले पार्टीका स्थानीय समितिहरूमा जिल्ला समिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति, महानगर/उपमहानगर÷नगर÷गाउँ समिति, वडा÷शाखा समिति, टोल समिति गठन गर्नेछ ।
भूगोलका जिल्ला समितिहरु ९९ सदस्यीय हुनेछ । सम्बन्धित जिल्लामा कार्यरत प्रदेश समितिका सदस्यहरु पदेन सदस्य रहने छन् । विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय हुनेछन् । उपमहानगर समिति ८१ सदस्यीय, नगर समिति ६५ सदस्यीय, गाउँ समिति ५५ सदस्यीय, महानगरका वडा समिति ४१ सदस्यीय, उपमहानगरका वडा समिति ३१ सदस्यीय, नगर र गाउँका वडा र शाखा समिति २१ सदस्यीय, नगर र गाउँका टोल समिति १५ सदस्यीय तथा पार्टी सेल समिति ११ सदस्यीय हुनेछ ।

समितिहरु समावेशी चरित्रको हुने
माओवादी केन्द्रले प्रत्येक निर्वाचित समितिले सदस्य संख्याको १० प्रतिशत सम्म सदस्य मनोनय गर्न सक्ने व्यवस्था गरेको छ । सबै तहका पार्टी समिति र अधिवेशनका प्रतिनिधिहरूको निर्वाचनका लागि खुल्ला, भूगोल र समावेशी गरी तीन क्षेत्र तोकिएको छ ।

सबै तहका पार्टी समितिका सदस्यहरू आफ्नोे तहको महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुनेछन् । सबै तहका निर्वाचित समितिहरू स्थानीय विशेषताअनुरूप समावेशी चरित्रका हुनेछन् र तिनमा ३५ प्रतिशत महिला सदस्य अनिर्वाय हुने व्यवस्था माओवादी केन्द्रले आफ्नो विधानमै गरेको छ ।

केन्द्रीय समितिमा १५ प्रतिशत सदस्यहरु दलित समुदायबाट रहनेछन् । अन्य समितिहरुको सदस्यहरुमा सबै समितिको भूगोलले समेटेको दलित जनसंगठनको अनुपातमा २ प्रतिशत थप गरी राखिनेछ । गैरभौगोलिक समितिहरुमा सम्बन्धित समितिको दलित पार्टी सदस्यको अवस्था हेरी दलित समुदायलाई समावेशीकरणको व्यवस्था गरिनेछ ।

यसैगरी सबै पार्टी समितिहरुमा २० वर्षदेखि माथिका युवाहरुलाई कम्तिमा २० प्रतिशतको संख्यामा समावेश गरिनेछ । महिला र दलित प्रतिनिधित्वको स्वरूप समावेशी चरित्रको हुनेछ । न्य्ूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा महिला वा दलित सदस्यहरूको स्थान खाली रहनेछ ।

पार्टी समितिहरूमा स्थानीय विशेषताअनुरूप गरिबीको रेखामुनी रहेका वर्ग, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको यथासम्भव समावेशी प्रतिनिधत्व गराउँने माओवादी केन्द्रले कार्यविधि बनाएको छ । समावेशीताको आधार सामान्यतया सम्बन्धित वर्ग वा समुदायको सङ्गठित सदस्य सङ्ख्यालाई बनाउने माओवादीको विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्