
काठमाडौं । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–८, बसडिलवास्थित एक खाली जग्गामा पार्किङ गरी राखिएको अवस्थामा ९० लाख रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्ज कार फेला पारेको हो ।
भारतीय नम्बर प्लेटको कार कसरी यहाँ आयो, रहस्यमय बनेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार बरामद भएको हो ।
भारतीय नम्बर प्लेट (जिजे २१ सिबी ६००१) रहेको मर्सिडिज बेन्ज जिएलसी २०० डी (फोरम्याटिक) कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त कार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बेलहिया भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
















