
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा एक युवकमाथि पाँच राउन्ड गोली प्रहार भएको छ । गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन् ।
स्थानीयका अनुसार मंगलबार राति करिब ९ः १५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली प्रहार गरेका थिए । गोली प्रहारपछि घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
रौतहट प्रहरीका डीएसपी वसन्त गौतमका अनुसार गोली लागेर गम्भीर घाइते भएका यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको चिकित्सकबाट जानकारी प्राप्त भएको उनले बताए । शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउसमेत देखिएको उनले जानकारी दिए ।
घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ । युवकमाथि कसले र किन गोली प्रहार ग¥यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन । आक्रमणकारीको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















