
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीमा पादाधिकारीको जिम्मेवारी लिनसक्ने कुनै नेता नै नभएको टिप्पणी गरेका छन् ।
आज उपत्यका विशेष प्रदेश कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीको निर्णय हेर्दा त्यहाँ पदाधिकारीको जिम्मेवारी लिने नेता नै नभेटिएर रिक्त रहेको पाएको बताए ।
एकीकृत समाजवादीले आजै ७ जना उपाध्यक्ष बनाएको विषयलाई पनि उनले व्यङ्ग्य गर्दै भने ‘सातजनालाई नगद उपाध्यक्ष बनाइएको छ ।’
पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिँदै उनले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइनन्, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालप्रति संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन ।’
एक अर्को प्रशंगमा उनले आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्ने राजनीति नगरेको बताए । पार्टी निकट कर्मचारी संगठनको कार्यालय विवादलाई उल्लेख गर्दै ओलीले भने, ‘प्रहरीलाई कानुन उल्लंघन गर्ने संयन्त्रका रुपमा सत्ता पक्षले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने !’
माधवकुमार नेपालले दक्षिणपन्थको विरोध गर्ने भनेकोप्रति लक्षित गर्दै थपे, ‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !’
सत्तारुढ गठबन्धनको मानवीय मनसमेत नरहेको समेत ओलीले टिप्पणी गरेका छन् । ‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’
ओलीले सत्ता गठबन्धनसँग एमालेसँग लड्ने क्षमता नभएको टिप्पणी गर्दै ‘मन्त्रिपरिषद् विस्तारसम्म गर्न नसक्नेले एमालेसँग लड्ने धाक दिने ?’ भन्दै प्रश्न गरे, ‘मन्त्रिमण्डल बनाउनु छैन, एमालेसँग लड्ने ? मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने ? एमाले जस्तो मजुबत पार्टीसँग लड्ने ?’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बिहीबार ७४ दिन पुगेको छ तर हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यही विषयलाई लिएर ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गरेका हुन् । उनले सत्तारुढ गठबन्धनका दलहरुबीच आपसी एकतासमेत नभएको भन्दै एमालेसँग लड्न एकता हुन गठबन्धनलाई चुनौती दिए । उनले भने, ‘कम्तिमा मिलेर त आउनुहोस् ।’
एमाले विभाजन र सत्ताबाट हट्नुपरेको दुःख भोगिरहेका ओलीले पछिल्ला दिनहरुमा एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस तथा सरकारमाथि लगातार आक्रोश पोखिरहेका छन् ।











