बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य व्यक्ति पनि परेको आशङ्का गरिएको छ ।

सोमबार बिहान करिब १०: २० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर दुर्घटना भएको हो । अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा जुटेको थियो ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० की करिब ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । उनीहरूको शव भिरको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा खटिएको छ । दुर्घटनामा परेका अन्य व्यक्ति तथा अटोको खोजी र उद्धार कार्य जारी रहेको रहेको प्रहरीले जनाएको छ ।


















