Logo
Logo

सेनिटरी प्याडबाट सरकारले उठायो वर्षमै १७ करोड भन्सार



काठमाडौं । सरकारले सेनिटरी प्याड र टेम्पोन आयातमा गत वर्ष १७ करोड रुपैयाँभन्दा बढी भन्सार महसुल उठाएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँका सेनिटरी प्याड र टेम्पोन आयात गरिएको थियो ।

आर्थिक ऐन २०७७ मा सेनिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्ने उल्लेख छ । चालु आर्थिक वर्षको साउनमा मात्रै ८ करोड ७९ लाख रुपैयाँका सेनिटरी प्याड र टेम्पोन आयात गरिएको छ जसबाट राज्यले १ करोड ३१ लाख रुपैयाँभन्दा बढी भन्सार महसुल संकलन गरेको छ ।

पछिल्लो समय स्वदेशी सेनिटरी प्याडको उत्पादन बढे पनि पर्याप्त नहुँदा अझै खपतको ९० प्रतिशत आयात हुने गरेको छ । आर्थिक वर्ष ०७६र७७ मा सेनिटरी प्याड र टेम्पोन आयातमा २ अर्ब १८ करोड ४८ रुपैयाँ बाहिरिएको थियो । आर्थिक ऐन २०७६ मा भने सेनिटरी प्याडका लागि छुट्टै महसुल उल्लेख छैन ।

‘प्याडको महसुल दर भने परिवर्तन भएको छैन । आर्थिक ऐन २०७६ मा अरू नै शीर्षकअन्तर्गत यसलाई समेटिएको थियो जस्तो लाग्छ,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘भन्सार महसुल विगतदेखिकै हो ।

अहिले परिवर्तन भएको छैन ।’ आर्थिक ऐन २०७७ मै भएको भन्सार महसुलसम्बन्धी व्यवस्थालाई २०७८ को आर्थिक अध्यादेशमा निरन्तरता दिइएको थियो । आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पनि त्यही उल्लेख छ । नेपालमा सेनिटरी प्याड र टेम्पोन भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट ल्याइन्छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्