Logo
Logo
एमाले केन्द्रीय कमिटी बैठक

एमालेको प्रतिवेदनमा खोजियो ‘जनयुद्ध’

७ उपाध्यक्ष बनाउने, कार्यकारी पदमा २ पटक भन्दा बढी बस्न नपाउने



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न टोलीका टोली नेताले सुझाव राख्ने क्रम जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा आज १० टोलीका टोली नेताले समूहमा आएको सुझाव प्रस्तुत गर्दैछन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो ।

छलफल पश्चात अहिले सुझाव राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।

लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी केन्द्रका नेताको जिम्मेवारी खोस्न नहुने सुझाव दिएका छन् ।

पार्टीमा ७० वर्षीय उमेर हद हटाउनुपर्ने र राख्नुपर्ने भन्ने दुवै मत आएकाले यस विषयमा नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने लुम्बिनी प्रादेशिक समूहको सुझाव रहेको छ । पार्टीको सदस्यता पाउन कम्तिमा एक वर्ष जनसंगठनमा काम गरेको हुनुपर्ने सुझाव समेत उनले दिए । प्रतिवेदनमा नेकपा एमालेको निरन्तरतासँगै जनयुद्धको निरन्तरता पनि उल्लेख गर्न नेतृत्वलाई सुझाव उनले दिएका छन् ।

पार्टी एमाले भएपनि राजनीतिक रुपमा नेकपाकै निरन्तरता हो भनेर राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव उनको रहेको छ ।

यसैगरी बागमती प्रादेशिक कमिटीको टोली नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्नुपर्ने सुझाव दिँदै उनले पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजानुपर्ने नेतृत्वलाई समूहको सुझाव पेश गरेका छन् ।

‘पार्टीलाई मजबुत बनाएर लैजान सर्कुलर मात्रै जारी गरेन हुँदैन अब आगामी निर्वाचनलाई ध्यानमा राखेर जानुपर्छ । अहिलेसम्म तीनवटै सरकारले गरेका राम्रो कामलाई जनतासम्म लिएर अगाडि बढ्नुपर्छ’ वागमती प्रादेशिक कमिटीको टोली नेता पोखरेलले भने ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्यालाई हल गरेर जानुपर्ने सुझाव समेत नेतृत्वलाई दिइएको छ । पार्टी अनुशासन लगायतका विषयमा ध्यान दिनुपर्ने बताउँदै पोखरेलले अनुशासनको उल्लंघन हुँदा समस्या ल्याएकोले अनुशासन उल्लंघन गर्ने जो सुकैलाई पनि कारवाही गर्नुपर्ने सुझाव उनले दिए ।

यसैगरी प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष बनाउन सुझाव दिए । विधान संशोधन प्रस्तावमा तीन मात्रै उपाध्यक्षको प्रस्ताव गरिएकाले प्रदेश १ कमिटीले सातै प्रदेशबाट ७ उपाध्यक्ष राख्न सुझाव दिएको हो । उनले संक्रमणकालीन अवस्था भएकाले २२५ भन्दा बढी सदस्य भएको केन्द्रीय कमिटी बनाउन सुझाव समेत दिएका छन् ।

पार्टीको तल्लो कमिटीमा बहुपदीय व्यवस्था गर्न सुझाव दिँदै उनले केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समावेशी ढंगको कमिटी बनाउनुपर्ने सुझाव आएको बताए । यस्तै विधान महाधिवेशनलाई नीति तथा महाधिवेशन भन्नुपर्ने सुझाव समेत उनले दिए ।

९ औं महाधिवेशन, चुनावी गठबन्धन, पार्टी एकता, सरकार सञ्चालन र सरकारलाई परमादेशबाट हटाइएको विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट रुपमा आउनुपर्ने सुझाव उनले दिए ।

यसैगरी संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव आएको छ । पार्टीले निर्वाचन प्रणाली सुधारमा जोड दिनुपर्ने समेत उनले सुझाव दिएका छन् । एमाले मुलुकको एकमात्र विकल्प भएको भन्दै वामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता र सहकार्य गर्न सुझाव प्रदेश १ ले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्