Logo
Logo

‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

स्थायी घर भोजपुर साल्पासिलिछो–४ लिम्खिम भई हाल काठमाडौँको बूढानीलकण्ठ-१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राईलाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार राईले फेसबुकमा ‘केडी गोर्खाली’ नामक फेक आईडी बनाएर महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि उनले ती महिलालाई ‘म यूके लाहुरे हुँ । मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटना परी मृत्यु भएको हो । म तिमीलाई माया गर्छु । तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाएका थिए ।

गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी रहेको र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।

ती महिलाको उजुरीको आधारमा राईलाई महानगरीय अपराध महाशाखाको टोलीले असोज ११ गते पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्