Logo
Logo

खाद्यान्न र उपभोग्य सामग्रीमा ध्यान दिन निर्देशन



काठमाडौं । संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौँमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन दिए ।

उनले विभिन्न पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएको भन्दै जानकारी माग गरेका थिए ।

समितिका सदस्यले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए । समितिका सदस्य देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिए ।

उनले सरकारी संस्थान काठमाडौँ उपत्यकामा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात राख्नुपर्नेमा जोड दिए ।

सदस्य किसानकुमार श्रेष्ठले विदेशी वस्तुको आयातलाई कम गर्न स्वदेशी बस्तुको खपतमा केन्द्रीत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्