Logo
Logo

आइसिएफसी फाइनान्सलाई कारबाही भएन



काठमाडौं । कालो धनलाई सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको घटनामा मुछिएको आइसिएफसी फाइनान्सलाइ राष्ट्र बैंकले जोगाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो फाइनान्समाथि छानबिन गरेर कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई गत साता पत्राचार गरेपनि अझै कारबाही भएको छैन ।

काठमाडौं मैतीदेवीका पंकज जोशी जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धि अपराधमा सो फाइनान्स मुछिएको थियो । जोशीले अमेरिकामा अपराध गरेर पठाएको रकम सो फाइनान्सको खातामा जम्मा भई खर्च भएको थियो । जोशीले अमेरिकामा चिठ्ठा ठगीमा पठाएको दुई लाख ९० हजार अमेरिकी डलर बैंक अफ काठमाडौंमा रहेको सो फाइनान्सको डलर खातामा पठाएको थियो ।

यसरी संस्थाको खाताबाट सो रकम जोशीका आफन्तको नाममा सारिएयो । जून हिसाबले यसमा संस्थाको मिलेमेता प्रष्ट हुन्छ । यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणले फाइनान्सलाई समेत मतियार बनाएर मुद्दा चलाउनुपर्नेमा नचलाई कारबाहीको जिम्मेवारी राष्ट्र बैंकलाई जिम्मेवारी दिएको थियो ।

पंकजकी दिदी पूजा आइसिएफसी फाइनान्सको कर्मचारी भएको आधारमा त्यती ठूलो रकमको अवैध कारोबारमा फाइनान्सले सघाएको थियो । विभागले फाइनान्सको प्रष्ट मिलेमतो नदेखिएको भनेर मुद्दा नचलाउने निर्णय गरेको हो । चलखेलका आधारमा यसरी फाइनान्समाथि मुद्दा दायर नभएको विभाग स्रोत बताउँछ ।

यससम्बन्धि विभागको निर्णयमा छ, ‘विवादित रकम निजहरूको खातामा जम्मा भएको देखिँदा संस्थागत रूपमा सो विवादित रकमको व्यवस्थापनमा यस फाइनान्सको संलग्नता र मिलेमतो रहेको हालसम्मको अनुसन्धानमा नदेखिए पनि फाइनान्सको वाणिज्य बैंकमा भएको आफ्नो खाता प्रयोग गरी वैदेशिक मुद्राको कारोबार गर्न पाउने–नपाउने सम्बन्धमा आवश्यक छानबिन गरी कानुनबमोजिम गर्ने गरी नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६६ को दफा २५ (क) बमोजिम लेखी पठाउने ।’

सम्पत्ति शुद्धीकरण निवारण ऐनको सो दफामा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरबाहेकको अनुसूचीमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र संकलन गरिएका प्रमाण कागजसहितको मिसिल अनुसन्धान गर्ने निकायलाई लेखिपठाउने उल्लेख छ । विभागले आइसिएफसी फाइनान्सका अध्यक्ष रामबाबु पन्तसँग दुई पटक घटनाबारे बयान लिएको थियो ।

जसमा उनले फाइनान्सको त्यसमा कुनै संलग्नता नरहेको बताएका थिए । स्रोतका अनुसार विभागको छानबिनमा सो फाइनान्स कालो धनको अवैध कारोबारलाई सघाएको अन्य प्रमाण समेत भेटिएका थिए । जसलाई मुद्दा चलाउने क्रममा नजरअन्दाज गरिएको छ । यस्तो गम्भीर अपराधमा संलग्न फाइनान्सलाई राष्ट्र बैंकले जोगाएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय रुपमा बदनाम हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्