Logo
Logo

बरिष्ठ पत्रकार हिरण्यलालको भीमरथारोहण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । बरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठको नेवारी परम्पराअनुसार जंको अर्थात ‘भीमरथारोहण’ गरिएको छ । परराष्ट्रविदसमेत रहेको श्रेष्ठको ७७ वर्ष, ७ महिना, ७ दिन, ७ पाइलाको अवसरमा बिहान आठ बजेर ४० मिनेटको शुभ साइतमा जंको गरिएको हो ।
काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–८ भंगालस्थित उनकै निवासमा जंको गरिएको छ । जंकोको क्रममा परम्पराअनुसार उनका जेठो छोरा लुजका एक छोरा र एक छोरी, कान्छा छोरा मुजका एक छोरासहितको ६ जनाको भाञ्जा–भाञ्जीको टोलीले हिरण्यलाललाई रथमा राखी उचालेर जंको गरिएको हो ।
उक्त क्रममा कसैले घरमै बनाइएको मण्डपमा, कसैले घर वरिपरि त कसैले आफनो घर रहेको सम्वन्धित नगरपालिकाको नगर क्षेत्र बाजागाजाका साथ परिक्रमा गराउने चलन छ । श्रेष्ठलाई घरभित्रकै मण्डपमा राखी रथमा राखेर संयुक्त रूपमा उचालिएको थियो ।
नेवारी परम्परा अनुसार पहिलो जंको ७७ वर्ष, ७ महिना, ७ दिन, ७ पाइलाको अवसरमा गरिन्छ । त्यसपछिको दोस्रो जंको ८८ वर्ष ८ महिना ८ दिनमा, तेस्रो जंको ९९ वर्ष ९ महिना ९ दिनमा र अन्तिम जंको सय वर्ष १० महिना १० दिनमा गर्ने परम्परा छ ।

कार्यक्रममा उनीबारे विभिन्न व्यक्तिले लेखेका लेखको संग्रह ‘एक व्यक्ति अनेक दृष्टि : हिरण्यलाल श्रेष्ठ’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकको शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्