काठमाडौं । गएको भदौ ५ गते सशस्त्र प्रहरीले राजस्व छलीका लागि बनाइएको नक्कली स्टिकरसहित २ जनालाई पक्राउ गरेपनि उक्त स्टिकर कुन मदिरा उद्योगमा प्रयोग गर्न ल्याइएको हो भन्ने कुरा अझै खुलेको छैन । उक्त स्टिकरका मालिक पक्राउ नपरेकोले राजस्व अनुसन्धान विभागदेखि आन्तरिक राजस्व विभागसम्म सेटिङको आशंका उब्जिएको छ ।
राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरी भैरहवाका मालिक फुलसिंह क्षेत्रीलाई वयानमा लिएर तारेखमा छाडेको छ । कारबाहीबाट बच्न क्षेत्रीले आफूविरुद्ध समाचार लेख्ने मिडियालाई गाली बेइज्जती मुद्दा दायर गर्नेदेखि शक्तिकेन्द्रलाई रिझाउने काम गरेका छन् ।
यस क्षेत्रमा मदिरामा नक्कली स्टिकर प्रयोग भइरहँदा राज्यको ठूलो राजस्व गुमिरहेको छ । केन्द्रबाट पनि यसबारे खासै चासो नदिँदा सेटिङमै नक्कली स्टिकरको प्रयोग भएको स्वभाविक भएको पुष्टि हुन्छ ।
गत भदौ ५ गते आन्तरिक राजस्व कार्यालय लेखिएको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । ती स्टिकर अनुसन्धानकै क्रममा दुई उद्योगीसहित ६ जनासँग राजस्व अनुसन्दान टोलीले बयान लिएको छ । यस प्रकरणमा भीम भन्ने कुलबहादुर पण्डित पनि नियन्त्रणमा आएकाले अपराधी पत्ता लगाउन सहज भएको छ ।











