Logo
Logo
भागबन्डाको तरंग

प्रदेश २ सरकारमा हलचल, मुख्यमन्त्री राउत फेरिन सक्ने



काठमाडौं । प्रदेश २ सरकारमा व्यापक रुपमा हेरफेरका लागि शीर्ष नेताहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का उपाध्यक्ष लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश २ सरकार हेरफेरका लागि तीन विकल्पमा छलफल भइरहेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका सदस्य एवं कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राय यादव, कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवसहित शीर्ष नेता प्रदेश २ सरकार हेरफेरका लागि विभिन्न विकल्पसहित छलफलमा जुटेका हुन् ।
शीर्ष नेताहरु सोमबार जनकपुरधाममा पार्टी प्रदेश २ कमिटीको बैठकमा सहभागि थिए । बैठकमा उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन गर्ने विषयमा छलफल गरेका छन् ।

जसपा स्रोतका अनुसार विभिन्न तीन विकल्पमा छलफल चलिरहेको छ । पहिलो, मुख्यमन्त्री राउतसहित जसपाका सबै मन्त्रीलाई फिर्ता बोलाउँने र नयाँलाई अवसर दिने । दोस्रो, मुख्यमन्त्री राउतलाई कायम राख्दै जसपाका सबै मन्त्रीलाई फिर्ता बोलाउँने र नयाँलाई अवसर दिने । तेस्रो, विकल्पको रुपमा जसपाका दुई मन्त्री र एक राज्यमन्नीलाई फिर्ता बोलाउँने ।

यसरी विभिन्न तीन विकल्पमा छलफल गर्दै केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश सरकार विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

पहिलो विकल्पमा जाँदा पार्टीभित्रै धेरै समस्या हुने भएकाले दोस्रो र तेस्रो विकल्प कार्यान्वयन गर्नुपर्नेमा नेताहरुको चासो रहेको छ । मुख्यमन्त्री नै फेरिँदा अर्को मुख्यमन्त्रीका लागि पार्टीभित्र ठूलो लफडा हुने भएकाले मुख्यमन्त्री बाहेकलाई फिर्ता बालाउँनुपर्ने नेता भट्टराईको जोड रहेको छ । तर अध्यक्ष यादवले मुख्यमन्त्री राउत सहितका जसपा सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ प्रदेश सरकार दिने र नयाँलाई अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।

शीर्ष नेताहरुकै थरीथरीका प्रस्ताव आएकाले तत्तकालका लागि तेस्रो विकल्प कार्यान्वयन हुने बढी सम्भावना रहेको जसपा स्रोतको दावी छ । तेस्रो विकल्पमा जाँदा अलि सजिलोसमेत रहेकाले दुई मन्त्री र एक राज्यमन्त्री फिर्ता बोलाउँने र सो ठाउँ नेकपा (एकीकृत समाजवादी) पार्टीलाई दिने बिषय सजिलो रहेको छ ।

केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादी पार्टीलाई प्रदेश दुई सरकारमा सहभागी गराउँनुपर्ने छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर प्रदेशमा सहभागि गराउँने बिषयमा पार्टीभित्र कुनै समस्या छैन् । तर जसपाका ति दुई मन्त्री र एक राज्यमन्त्री कसलाई फिर्ता बोलाउँने भन्नेबारे लफडा छ ।

स्रोतका अनुसार तत्कालीनन राजपाबाट पर्यटनमन्त्री भएका रामनरेश राय यादव, वनमन्त्री नवलकिशोर साह र फोरमबाट राज्यमन्त्री भएकी उषा यादवलाई फिर्ता बोलाउँने बारेमा शीर्ष नेता सहमति नजिक पुगेका छन् ।

संघीय सरकारमा कृषीमन्त्री रहेका महेन्द्ररायको कोटाबाट रामनरेश प्रदेशमा मन्त्री भएका थिए । त्यसैले पार्टीभित्र सत्ताको समीकरण मिलाउँन रामनेरशलाई फिर्ता बोलाउँन लागिएको छ । कोरोना कालमा प्रदेशमा अतिनै भ्रष्ट छबि बनाएका पर्यटनमन्त्री रामनरेशलाई हटाउन सजिलो समेत रहेको चर्चा पार्टीभित्र छ ।

यस्तै प्रदेशमा बदनाम भएका नवलकिशोरलाई फिर्ता बोलाउँने बारेमा शीर्ष नेताहरुबीच कुनै मतभिन्ता छैन् । यि दुई मन्त्रीलाई फिर्ता बोलाएर एकीकृत समाजवादीलाई दिने बारेमा नेताहरु अन्तिम टुंगोमा पुगिसकेका छन् ।

यता अर्थराज्यमन्त्री उषा यादवलाई फिर्ता बोलाएर सो ठाउँमा जसपाका सांसद निरा साहलाई पठाउँने बिषयमा पार्टीभित्र कुनै विवाद छैन् । जसपा प्रतिनिधिसभाका सांसद प्रमोद साह संघीय सरकारमा मन्त्री हुने भनेर पार्टीले टुंगो लगाए पनि अन्तिम समयमा उनको नाममा टिपेक्स लागेको थियो । निरा उनै प्रमोदका धर्मपत्नी हुन् । संघीय सरकारको क्षतिपूर्ति स्वरुप प्रदेश सरकारमा निरालाई राज्यमन्त्री बनाउनुपर्ने जसपा नेताहरु बताउँछन् ।

यसैगरी, प्रदेश २ का कृषिमन्त्री विजय यादवले प्रदेश कमिटीमा बस्न नचाहेकोले उनलाई केन्द्रीय कमिटीमा राख्ने बिषयमा समेत छलफल भइरहेको छ । विजय प्रदेश २ को पार्टी अध्यक्ष समेत हुन् । तर उनले प्रदेश कमिटीको अध्यक्षबाट राजनीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपनि तत्कालका लागि जसपा प्रदेश २ को तदर्थ कमिटी गठन गरी कात्तिक १५ गतेसम्मका लागि अध्यक्ष जिम्मेवारी दिइएको थियो । प्रदेश सरकारमा अर्थमन्त्री रहेका विजयलाई कृषि मन्त्रालयमा घटुवा गरिएको थियो । त्यसपछि उनी पार्टी शीर्ष नेताका साथै मुख्यमन्त्री राउतसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्