Logo
Logo

याहु पनि चिनियाँ बजारबाट बाहिरियो



पेचिङ । अन्तत अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय कम्पनी बन्न पुगेको छ ।

चीन सरकारको नियमनहरुको पालना गर्नका लागि अति नै चुनौतीपूर्ण भएको भन्दै कम्पनीले त्यस्तो कदम चालेको हो । प्रविधि उद्योगमाथि चीनको बढ्दो नियन्त्रणका कारण कम्पनीले सोमवारदेखि चीन छाड्ने निर्णय गरेको हो ।

कम्पनीले चीनमा बढ्दो चुनौतीपूर्ण व्यवसायिक तथा कानूनी वातावरणका कारण आगामी नोभेम्बर १ देखि आफ्ना सेवा चीनमा उपलब्ध नहुने बताएको छ । चीन सरकारले सोमवारदेखि नयाँ डाटा सुरक्षण कानून लागू गरेकै दिनमा कम्पनी चीनबाट बाहिरिएको हो ।

उक्त नयाँ कानूनले प्रविधि कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा संकलन गर्ने कुरामा नियन्त्रण गर्ने तथा प्रयोगकर्ताका डाटा उपयोग गर्ने विषयमा थप कडाई गरेको छ । साथै नयाँ कानूनमा सरकारले मागेको खण्डमा कम्पनीहरुले प्रयोगकर्ताका डाटा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सन् २०१५ मै पेचिङस्थित कार्यालय बन्द गरिसकेको छ । माइक्रोसफ्टले आफ्नो सोसल प्लेटफर्म लिङ्क्डइन चीनमा यसअघि नै बन्द गरिसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्