Logo
Logo

पद्मरत्नबारे पत्रकार रसिकले ल्याए ‘सर्वरत्न’


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौं, २६ बैशाख । पत्रकार तथा साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ राजनीति अगुवा तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको जीवन एवं व्यक्तित्वमा आधारित पुस्तक ल्याएका छन् ।
स्व. तुलाधरको राजनीति संघर्ष र सफलताबारे उल्लेखित पुस्तक ‘सर्वरत्न’को सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच सार्वजनिक गरे ।
पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले पद्मरत्न तुलाधर बहुआयामिक व्यक्ति भएको बताए । राजधानीको क्षेत्रपाटीस्थित क्षेत्रपाटी पार्टी प्यालेसमा बुधबार आयोजित समारोहमा उनले भने, ‘पद्मरत्नजीको विविध आयाम भएका व्यक्ति हुनुहुन्छ । भाषा आन्दोलन, पहिचानको आन्दोलन, पत्रकारिताको आन्दोलनमा, मानवअधिकारका रुपमा साहित्यकारका रुपमा उहाँका धेरै व्यक्तित्वका आयाम छन ्। उहाँको बारेमा चर्चा गर्दै आएका थियाँै । उहाँ गुम्दा हामीले अभिभावक गुमायौँ ।’


शान्ति प्रक्रिया सफल पार्ने नेताका रुपमासमेत पद्मरत्नको योगदान रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरे ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए ।
अध्यक्ष दाहालले अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रियाअन्तरगत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए ।
कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको स्मरण गराए । ब्रदर बुक्सले बजारमा ल्याएको पुस्तकको मुल्य ३२५ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्