Logo
Logo

राणाको सम्पत्तिको स्रोत के हो ?


10k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको आरोपलाई सामान्य रुपमा लिनु हुन्न । भ्रष्टाचारीलाई दण्ड, सजाय सुनाउने अधिकारप्राप्त प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बसेको व्यक्तिले नै भ्रष्टाचार गर्छ भने त्यो देशको अवस्था कस्तो होला भन्ने कुरा अदालतको बेथितिले देखाएको छ ।

प्रधानन्यायाधीश राणा र उनका परिवारसमेत भ्रष्टाचारमा संलग्न भएको आरोप वरिष्ठ अधिवक्ता शम्भु थापाको छ । विशेष अदालतबाट तत्कालीन पुनरावेदन अदालत दिपायल सरुवा भएको केही समयमै राणाकी पत्नी रेजी राणा क्षत्रीका नाममा काठमाडौंमा खरिद गरिएको घरजग्गाको स्रोतबारे थापाले सार्वजनिकरुपमै प्रश्न गरेका छन् । २०६५ कात्तिक २४ गते राणाकी पत्नी रेजीले काठमाडौं–३० स्थित दुई वटा घडेरी र त्यसमा बनाइएका २ करोड ४० लाख रुपैयाँमा खरिद गरेकी थिइन् । विवादित जग्गाको मुद्धा सर्वोच्चमा विचाराधीन रहेकै बेला राणाले पत्नीको नाममा घरजग्गा खरिद गरेका थिए । थापाले सार्वजनिक रुपमै सोधेका छन्– उक्त सम्पत्ति पैतृक हो कि घुसको ?

राणा ०६२ माघ १३ मा भ्रष्टाचारसम्बन्धि मुद्धाहरूको सुनुवाइ गर्ने विशेष अदालतमा पदस्थापन भएका थिए । २०६५ असोज ७ सम्म विशेष अदालतमा रहँदा जबराले भ्रष्टाचारसम्बन्धि करिव तीन दर्जन मुद्दामा विषयवस्तु प्रवेशै नगरी हदम्यादको कारण देखाएर सफाइ दिएका थिए ।

थापाले भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एन्ड मोल्ड इन्जस्ट्रिज कम्पनी आफ्नो भाइ प्रभुशमशेरका नाममा कसरी आयो भनेर पनि प्रश्न गरेका छन् । उक्त कम्पनी सकार्न प्रभुशमशेरले एनआईसी बैंकबाट १६ करोड रुपैयाँ ऋण लिएको उनले बताए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि न्यायका सेवाग्राही वर्षौदेखि बिचौलियाबाट पीडित भएको र त्यसको नाइके प्रधानन्यायाधीश राणा भएको आरोप लगाएका छन् । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले जाँचबुझ गरेर न्यायाधीश नै बिचौलिया रहेको प्रतिवेदन दिएपनि राणाले कार्यान्वयन नगरेको अरोप लगाएका छन् ।

न्याय सेवामा प्रवेश गरेदेखि नै भ्रष्टाचारमा संलग्न राणाले अकूत सम्पत्ति कमाएका छन् । जिल्ला न्यायाधीशहरुलाई समेत उनले धम्क्याउने गरेका छन् ।

बुटवलमा न्यायाधीश हुँदा राणाले जिल्ला न्यायाधीश ओमकार दाहाललाई एउटा महिलाको सम्पत्तिसम्बन्धी मुद्दामा जिताइदिन आग्रह गरेका थिए । तर, दाहालले मानेनन् । त्यसको बदला लिन राणाले दाहालको शैक्षिक प्रमाणपत्र नक्कली हो भनेर न्याय परिषद्मा उजुरी हाले । न्यायाधीश दाहालको मुद्दा तीन वर्षदेखि विशेष अदालतमा झुण्डिएको छ । जबकि, दाहालको शैक्षिक योग्यताका विषयमा सम्बन्धित विश्वविद्यालयले सक्कली हो भनेर प्रमाणित गरिसकेको छ । त्यति मात्र होइन, आफूले भनेको नमानेको भनेर न्यायाधीश विश्वमंगल आत्रेयलाई समेत दुःख दिएका छन् । यसबाट के पुष्टि हुन्छ भने राणाले जिल्लाको मुद्दा पनि काठमाडौंमा सेटिङ गर्ने, आफू अनुकूल फैसला गर्न धम्की दिने र नमान्ने न्यायाधीशहरुलाई दुःख दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्