Logo
Logo

एमालेमा ‘मुसा ग्याङ’ सल्बलायो !


103.1k
Shares

काठमाडौं । नेकपा (एमाले) भित्र एकल वर्चस्व स्थापित गर्ने केपी शर्मा ओलीको घिनलाग्दो राजनीतिलाई अन्ततः आफ्नै कोटरीका ‘मुसा’हरुले भित्रभित्रै प्वाल पारिरहेका छन् ।

मंसिर ९–१२ मा चितवनमा आयोजना हुने १०औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियाबाटै एकल वर्चस्वका निम्ति ओलीले अभ्यास सुरु गरेका छन् । यस्तो अभ्यासअन्तर्गत १० बुँदे पक्षधर समूहबाट कूल प्रतिनिधिको १० प्रतिशतभन्दा बढी प्रतिनिधि हुन नदिने रणनीति छ । त्यो रणनीति करिव–करिव सफल भइसकेको छ ।

प्रतिनिधि चयनको काम अहिलेसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी ४० प्रतिशत प्रतिनिधि चयनमा पनि यही रणनीतिअन्तर्गत १० बुँदे पक्षधरलाई १० प्रतिशतमै खुम्च्याउने काम सफल भएको बालकोट स्रोतले दृष्टिलाई बताएको छ । तर, समस्या भने ओलीकै कोटरीबाट मैदानमा सुरु होलाजस्तो छ ।

ओलीले पार्टीको वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई बनाएर ईश्वर पोखरेललाई पाँचमध्येको उपाध्यक्षमा थन्क्याउने सुर कसेपछि यतिबेला पृथ्वीसुब्बा गुरुङसहितको ‘मुसा ग्याङ’ सल्बलाएको सूचना बालकोट पुगेको छ । अहिले चयन भएका ओलीपक्षीय प्रतिनिधिमध्ये यो ग्याङसँग कति प्रतिनिधि छन् भन्ने हिसाब निकाल्न थालिएको छ ।

त्यसो त १० बुँदे पक्षधरसँगै ईश्वरपक्षीय प्रतिनिधिलाई पनि चयन प्रक्रियामै रोक्ने काम पूर्वनिर्धारित रणनीतिभित्रै थियो । तर, ईश्वरले ओलीका केही ‘खास’ भनिने नेतासँग सम्बन्ध बढाउँदै गएपछि आफूलाई वरिष्ठ उपाध्यक्षका लागि ‘बार्गेनिङ’ गरिरहेका छन् ।

त्यसो त ओलीले पदाधिकारी, स्थायी कमिटी र पोलिट्व्युरो सदस्यसम्म सर्वसम्मत गर्ने र केन्द्रीय सदस्यहरुको मात्रै चुनाव गराउने योजना अगाडि सारेका छन् । तर, सर्वसम्मत प्रक्रियामा पनि प्रतिनिधि संख्या देखाउँदै ओलीसँग सौदाबाजी गर्ने ईश्वरसहितका केही नेता लागि परेका छन् । त्यसमा पृथ्वीसुब्बा गुरुङसहितका नेताले साथ दिएको बालकोटस्रोतले जनाएको छ ।

स्रोतले बताएअनुसार, पृथ्वीसुब्बा गुरुङले ‘एमालेभित्र केपीसँग प्रतिस्पर्धा गर्नु बेकार छ’ भनेर दिएको अभिव्यक्ति केपीभक्तिमा आधारित नभई केपीसँगको असन्तुष्टि हो । उनले गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट हटेसँगै ओलीसँग कहिले सार्वजनिक त कहिले आन्तरिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । फलस्वरुप, ओलीले उनलाई लक्षित गर्दै पदाधिकारी चयनका क्रममा उनको प्रतिकूल हुने निर्णय तयार पारेको संकेत पाएका छन् ।

पृथ्वीसुब्बाको चाहना उपमहासचिव वा उपाध्यक्ष हुने हो । तर, केपीले उनलाई यी दुबै पद दिने सम्भावना कम रहेको स्रोतको भनाइ छ । त्यसैले ईश्वरले भित्रभित्रै पृथ्वीसुब्बासहितका नेताहरुसँग सम्बन्ध बढाएका छन् । भनिन्छ, हाल सचिव रहेका पृथ्वीसुब्बालाई ओलीले फेरि सचिवमै थमाए भने त्यो पनि ठूलो कुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्