Logo
Logo

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने, आप्रवासन नियम थप कडा


441
Shares

काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन प्रणालीमा ठूलो परिवर्तन गर्दै विदेशी विद्यार्थीले परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ । अष्ट्रेलियन मिडिया सेभेनन्यूजका अनुसार विदेशी विद्यार्थीले एउटा भिसाबाट अर्को भिसामा सहजै परिवर्तन गर्दै बसिरहने प्रवृत्ति अर्थात् ‘भिसा हपिङ’ नियन्त्रण गर्ने योजना अघि सारिएको छ ।

अस्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कले बिहीबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै सन् २०२७/२८ सम्ममा शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन) २ लाख २५ हजारमा झार्ने सरकारको योजनाअन्तर्गत नयाँ कदम भएको घोषणा गरेका हुन् ।

सरकारले वैध भिसा नभएका व्यक्तिलाई अस्ट्रेलिया छाड्न बाध्य पार्ने गरी नियम पालना गराउने व्यवस्था पनि कडा बनाउने जनाएको छ । बर्कले अस्ट्रेलियाले देशमा वास्तविक योगदान गर्ने व्यक्तिलाई स्वागत गर्ने तर आप्रवासन प्रणालीको दुरुपयोग वा ठगी गर्नेहरूलाई समर्थन नगर्ने बताए ।

नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातक तहपछिको भिसामा रहेका व्यक्तिले सामान्यतः आफ्ना परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन पाउने छैनन् । यद्यपि, पीएचडी विद्यार्थी लगायत केही वर्गलाई भने दिइनेछ ।

विद्यार्थीले आफ्नो भिसा विस्तार गर्नका लागि उच्च तहको अध्ययनमा मात्रै स्थानान्तरण गर्न पाउनेछन् । उदाहरणका लागि, स्नातक तहबाट स्नातकोत्तर तहमा जाने विद्यार्थीले भिसा विस्तार गर्न सक्नेछन् । सरकारले यसमार्फत एउटै तह वा समान प्रकृतिको अध्ययनमा पटक–पटक भिसा परिवर्तन गरेर अस्ट्रेलियामा बसिरहने प्रवृत्तिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्