काठमाडौं । सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने भएको हो । राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ ।
फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी सहित) , नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ ।
राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।
यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १२ औँ तहमा तीन जना चिकित्सकलाई बढुवा गर्ने निर्णय गरेको छ । बैठकले डा श्याम सुन्दर यादव, डा भिमसिंह टिंकरि र डा गुणराज लोहनीलाई १२ औँ तहमा बढुवाको निर्णय गरिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए।












