Logo
Logo

आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान तथा आँखाको प्लास्टिक शल्य चिकित्सा सम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोग सम्बन्धि चेतना जगाउने उद्देश्यले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह यहि वैशाख २९ देखि जेष्ठ ४ गतेसम्म संचालन भइरहेको छ ।


रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करिब १५ देखि २० हजार नवजात शिशुहरु मध्ये एकमा यो रोग देखा पर्न सक्छ र यो वंशानुगत पनि हुन सक्छ । यसको लक्षणहरुमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्याति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्न सक्छ । यस रोगले असर गरेका बाबुआमाका बालबालिकाहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ साथै ५ वर्ष मुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ । आँखा रोग विशेषज्ञद्धारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ । लेजर,क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ । ढिलो अवस्थामा पगेका बिरामाीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ ।

सप्ताहको पहिलो दिन आज समुद्घाटन समारोहमा बोल्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले भन्नुभयो,“ यस रोगको जनचेतना फैलाउन हामीले हरेक अस्पतालको प्रसुती वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी मात्र उपलब्ध गराईदियौ भने पनि धेरै भन्दाृ धेरैले थाहा पाउन सकी समयमै उपचारको लागि आउन सक्छन् । तिलगंगा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाको लागि पहल गरेकोमा एकदमै राम्रो लागेको छ । गैर सरकारी संस्थाद्धारा संचालित आँखा अस्पतालले गर्दा आँखाको उपचारमा नेपाल रोल मोडल बनेको छ । शिशुको स्वास्थ्य सबैको लागि संवेदनशिल हो । त्यसैले यस रोगको लागि पनि जति हुन्छ घरपरिवार र समूदायमा जनचेतना फैलाउन जरुरी छ र आर्थिक अवस्थाले यस रोगको लागि उपचार गर्न नसकेका बिरामीहरुको लागि के कस्तो सहयोग गर्न सकिन्छ सरकारसँग पहल गर्नेछु र यस रोगसँग लड्न हामी सबै हातेमालो गरेर अघि बढौं ।”

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुईतले भन्नुभयो,“ गाउँ घरका धेरै बिरामीहरु शुरुमा जचाँउन सामूदायिक आँखा केन्द जाने भएकोले यस रोगको जनचेतना जिल्लास्थित सामूदायिक आँखा केन्द्रमा प्राथमिकताका साथ गरिनुपर्दछ । जसले गर्दा धेरै समुदायमा यस रोगको जानकारी, पहिचान होस् र समयमै उपचारको लागि आउन सकुन् ।” हालको विद्युतिय संचार माध्यम प्रयोग गरि यस किसिमका बिरामीहरुलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिने कुरामा जोड दिनुभयो ।

प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधिहरु प्रयोग गरिरहेका छौ भन्ने सन्दर्भमा आँखाको क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले जानकारी दिनुभयो । वहाँका अनुसार वार्षिक ३५ देखि ४० को संख्यामा नयाँ बिरामीहरु आउने गरको छ । पहिले पहिले उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि उपचार गर्ने गरेका छौ जुन केही प्रविधि प्रतिष्ठानमा मात्र रहेको छ ।

क्यान्सर पिडितहरुको उपचारार्थ आर्थिक सहयोगको लागि खुलेको ओपन आई ग्लोबलले नेपाल क्यान्सर रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ मार्फत प्रतिष्ठानलाई ४० जनाको लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन आर्थिक सहयोगको लागि रु. ४ लाखको चेक प्रतिष्ठानका कार्यकारी अधिकृत डा.रिता गुरुङ्गलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा अस्पतालतर्फका उपनिर्देशक प्रा. डा. रोहित सैजलेुं स्वागत मन्तव्य दिदै भन्नुभयो ,“ प्राय बिरामीहरु अचम्म परेर सोध्ने गरेका छन् कि आँखाको पनि क्यान्सर हुन्छ र ? यो रोग ५ वर्ष मुनिका बालकालिालाई हुन्छ । ९० % ३ वर्ष उमेर नपुग्दै देखा पर्छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३०–७०% रहेको छ तर विकसित देशहरुमा १ प्रतिशत भन्दा कम पाइन्छ । विकासोन्मुख देशहरुमा अधिकतम मृत्युदर हुनुको प्रमुख कारणहरुमा अशिक्षा,अन्धविश्वास,गरिबी तथा दक्ष चिकित्सक र उपकरणहरुको अभाव हुन् । जति छिटो बिरामीहरु उपचारको लागि अस्पताल आँउछन् त्यति नै हामीले आँखा तथा ज्यान जोगाउन सक्छौ । त्यसको लागि जनचेतनाको बढाउन हामी सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन तथा नेप्लीज सोसाइटी अफ अकुप्लाष्टिक सजर्नका महासचिव डा.बेन लिम्बुले रोग के हो र किन बिरामीहर ढिलो आँउछन र के कारणले उपचार गर्न सक्दैनन् भन्ने विषयमा बोल्नुभयो,” साधरणतया शिक्षा र जनचेतनाको अभावले बिरामीहरु ढिलो आउँने गरेको र आर्थिक अभावको कारण उपचार नगरी फर्कने देखिएको छ र मृत्युदर पनि बढी देखिएकोले बिरामी ढिलो आउँदा आँखाको डल्लो नै निकाल्नुपर्ने र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसक्दाको पिडाले हामीले आखिर के चाहि कारण हो त भनि यस सम्बन्धी हामीले ७ वटा प्रदेशको २७ वटा अस्पतालमा अनुसन्धान शुरु गरेका छौ । देशभरिका अस्पतालमा जनचेतना जगाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेका छौ । ”
कार्यक्रममा विभिन्न आँखारोग विशेषज्ञ, व्यवसायी तथा लेखक कर्ण शाक्य ,रेटिनोब्लास्टोमाका प्रतिनिधि, यस रोगका बिरामी र अभिभावक लगायत यस रोगलाई जितेर बाच्ँन सफल व्यक्तित्वको उपस्थिती रहनुका साथै मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सप्ताहभरि नै जनचेतनाको लागि पर्चा,पम्प्लेट,स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोग लाग्दा कस्तो देखिन्छ भनी फोटो देखाउन, विद्यालय, अस्पताल,समूदायमा पोस्टर टाँस्ने, आमसंचारका विभिन्न माध्यमबाट यस रोग सम्बन्धी जानकारी दिईने आदि गरी मनाउने भएको छ । ५ वर्ष मुनिका बालबालिकाकाको आँखाको नानीको बिचमा सेता टीका देखिएका वा असामान्य रुपमा आँखा रातो भएका वा डेढोपना देखिएमा तुरुन्त आँखा परिक्षणको लागि सम्पर्क राख्ने । समयमा नै रोगको निदान र उपचार गर्न सकिएमा आफ्नो बालबालिकाको दृष्टि, आँखा र जीवनको सुरक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्