
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा नेतृत्व चयनका लागि सम्मेलन गरेको छ । माओवादीले शनिबार देशभरका वडामा एकसाथ नेतृत्व चयन गर्ने भने पनि केही वडामा भने आज चेतृत्व चयन गरिँदैछ ।
केही वडामा मात्रै शनिबार सम्मेलन हुन नसकेको र उक्त वडाहरुमा आज नेतृत्व चयन गरिने माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको छ । आज १२ बजेसम्मा बाँकी वडामा नयाँ नेतृत्व चयन हुने र पूर्ण विवरण भने आज दिनभरीसम्मा आइसक्ने कार्यालय सचिव ढकालले जानकारी दिए । वडा नेतृत्व चयनबारे पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने माओवादी केन्द्रीय कार्यालयको तयारी छ ।
माओवादी केन्द्रले शनिबार (हिजो) एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । मंसिर ११ गते पालिका सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।
माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ । यस्तै माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापी रुपमा स्थानीय तह अन्तर्गतका वडाहरुको सम्मेलन भव्य एवं उत्साहपूर्ण रूपमा सम्पन्न भएको भन्दै पार्टी सम्वद्ध सबै नेता तथा कार्यकर्ताका साथै शुभेच्छुक जनसमुदायमा बधाई दिएका छन् ।












