Logo
Logo

इन्टरपोलको ८९औँ महासभामा भाग लिन प्रहरी महानिरीक्षक क्षेत्री टर्की प्रस्थान


1.3k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७ मंसिरदेखि ९ गतेसम्म संचालन हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेशनल सेन्टर ब्यूरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा नेशनल ब्यूरोका प्रतिनिधि सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने कार्यक्रम रहेका छन् ।

यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ । महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुने छन् ।

साथै, नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्