काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि समाजमा मेलमिलाप कायम गर्ने कार्यभार अझै बाँकी रहेको बताएका छन् ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा आज अध्यक्ष प्रचण्डले जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ’ अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न माओवादी प्रतिवद्ध रहेको उनले जनाएका छन् ।
‘यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ’ उनले भनेका छन् ।
सहिद तथा वेपत्ता परिवार, घाईते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तराष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुगोमा पुराउन र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापुर्वक सम्पन्न गरिसकेको पृष्ठभुमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरामा उनी विश्वस्त पार्न चाहेका छन् । ऐतिहासिक दिनमा सो प्रतिवद्धता पुरा गर्न सम्वद्ध सबै पक्षबाट उनले सहयोगको अपेक्षा पनि राखेका छन् ।
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष बितेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो अवधिमा हामीले नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौं । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।’
संविधानसभावाट संविधान, सोको कार्यान्वयनकानिम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरुले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकको छ ।
नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको छ । शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत छन् ।
संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरुले पनि आफनो ठाउमा मानवअधिकार र शान्तिकालागि आफनो भुमिका निर्वाह गरिरहेको माओवादीले जनाएको छ ।











