
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निलम्बन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाका पदाधिकारीले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे, फिफाको निर्देशन अनुसार नै आफ्ना दैनिक गतिविधि अगाडि बढाउने जानकारी दिएका हुन्।
कामकारबाही रोक्न राखेपले गरेको निर्णय बिनासर्त खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र विधानअनुसार रोकिएको निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने मुख्य सर्त रहेको एन्फाका सीईओ इन्द्रमान तुलाधरले बताए ।
आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्र काटेर एन्फाका बैंक खाता, सामाजिक सञ्जाल, वेबसाइट, गाडी तथा प्रशासनिक कामकारबाही रोकेपछि आन्तरिक फुटबलका सम्पूर्ण गतिविधि ठप्प भएको उनले बताए । निलम्बनका कारण नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको अवसर गुमाएको उनको भनाइ छ ।
त्यस्तै एन्फा महसचिव किरण राईले फिफा र एएफसीसँगको संवाद तथा समस्या समाधानको ठोस निकासबारे सरकार र राखेपले स्पष्ट पार्नुपर्ने माग राखे । एन्फाको विवाद व्यक्तिगत नभई सैद्धान्तिक टकराव देखिएको उनको भनाइ छ । अहिलेको अवस्थामा कसैले पद छोड्दैमा समस्या समाधान नहुने भन्दै कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्दै राज्य गम्भीर हुनुपर्ने राईको सुझाव छ ।
महासचिव राईले सरकारसँग थप विवाद वा टकराव गर्ने पक्षमा एन्फा नरहेको भन्दै छलफलबाटै निकास खोज्न आग्रह गरे ।















