Logo
Logo

बिरासत पुनःस्थापित गर्ने कोइराला परिवारको चाहनामा ग्रहण !



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै कोइराला परिवारको फेरि एकपटक चर्चा हुँदैछ । १३औं महाधिवेशन यता कमजोर भएको कोइराला परिवार बिरासत पुनःस्थापित गर्न चाहन्छ । गुमेको बिरासत फर्काउन मुख्यतः तीन नेता लागिपरेका छन् ।

विश्वेश्वरप्रसाद (बीपी) पुत्र महामन्त्री डा. शशांक कोइराला, केशव–नोनापुत्र शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालाको सक्रियता बढेको छ । मंसिर २४ देखि २६ गतेसम्म हुने १४औं महाधिवेशनबाट बिरासत फर्काउने उनीहरुको तयारी छ ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको मृत्युपछि भएको महाधिवेशनयता कोइराला परिवार कम्जोर देखिएको छ । २०७२ साल फागुनको तेस्रो साता सम्पन्न महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापति निर्वाचित भएसँगै कोइराला परिवारबाट कांग्रेस नेतृत्व गुम्यो ।

१३औं महाधिवेशनमा पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै पक्कड रह्यो । पार्टी स्थापनाकालदेखि संस्थापन पक्ष भएर पार्टीको नेतृत्वमा रजाइँ गर्दै आएको कोइराला परिवार संस्थापन इतर बन्यो ।

१४औं महाधिवेशन नजिकिँदै गर्दा कोइराला परिवारका तीनै नेता बिरासत फर्काउन लागिपरेका छन् । तर, तीनै जना सभापतिमा आकांक्षी छन् । सभापतिको दौडाहामा महामन्त्री शशांक सबैभन्दा अगाडि छन् । उनले आफूलाई सभापतिका बलियो उम्मेदवार भएको बताउँदै आएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्यद्वय शेखर र सुजाताले पनि सभापति नै ताकिरहेका छन् । संस्थापन इतरका नेताहरुबीच सहमति नभए सभापतिमा उम्मेदवारी दिने उनीहरुको तयारी छ । तीनै जनाले सभापति नै ताकेपनि १४औं महाधिवेशनमा एकै ठाउँमा उभिने उनीहरूको दाबी छ । तीन नेताबीच एकजना अघि बढ्ने कुरामा सहमति भइसकेको स्रोत बताउँछ । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्ने प्रस्ट भइसकेको छैन ।

सुशील कोइरालाको मृत्युपछि पारिवारिक बिरासत कसले सम्हाल्ने भन्ने लडाइँका कारण उनीहरुबीच दुरी बढेको थियो । तर, १४औं महाधिवेशनको चर्चा नजिकिएसँगै तीनै नेता एक ठाउँमा उभिएका हुन् । शशांक, शेखर र सुजाताले पटक–पटक लञ्च र डिनर मिटिङ गर्दै आएका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा नजाने, भेटघाटन नगर्ने उनीहरूले ०७४ साउनमा संयुक्त बैठक गरेका थिए । त्यसपछि उनीहरुले मिलेर अगाडि बढ्ने प्रतिवद्धता गर्दै आएका छन् ।

अहिले पार्टीभित्र सभापति देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवासँग ‘फाइट’ गर्न नसक्ने उनीहरुको निष्कर्ष छ । त्यसैले १४औं महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुनः कोइराला परिवार आउने उनीहरुको जिकिर छ ।

गुटगत आधारमा हेर्ने हो भने सभापति देउवापछिको बलियो भोट बैंक कोइराला परिवारसँग रहेको मानिन्छ । तर, कोइराला परिवार पुनः नेतृत्वमा आउन नसक्ने कांग्रेस मामिलाका जानकार बताउँछन् ।

कोइराला परिवारले वंशजको नामले कुनै लाभ लिन नसक्ने राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउँछन् । ‘उहाँहरुको लिगेसी, क्षमता छ भने नेतृत्वमा आउन सक्नुहुन्छ,’ गौतमले भने, ‘धरैजसो त परिवारकै पृष्टभूमिबाट आउनुभएको छ । गणेशमान परिवारका प्रकाशमान, महेन्द्र निधि परिवारका विमलेन्द्र ।’

शेखरबाहेक कोइराला परिवारका अरु नेताले जनसम्पर्क बनाउन नसकेको विश्लेषक गौतम बताउँछन् । ‘अरुभन्दा शेखरको सक्रियता निकै शसक्त छ । शशांक, बीपीको छोरा भएर मात्रै कांगेसको नेता भएका हुन् । संगठनिक रुपमा केही छैन,’ उनले भने, ‘यही कुरा प्रकाशमान र विमलेन्द्रमा लागू हुँदैन, उहाँहरुले विद्यार्थी कालदेखि नै लगानी गर्नुभएको छ । जेल बस्नु भएको छ, आफ्नै निष्ठा छ । कोइराला परिवारले प्रकाशमान र विमेलेन्द्रलाई उछिन्नु हुन्न । उहाँहरुको पारिवारिक लिगेसी मात्रै बढी छ ।’

तीनै जना कोइराला एक ठाउँमा हुँदा पनि नेतृत्वमा आउन नसक्ने विश्लेषक गौतको भनाइ छ । उनी भन्छन्, ‘कोइराला परिवार एकजुट हुँदा पाँच प्रतिशतमा असर गर्ला । तर, ९५ प्रतिशतलाई असर गर्दैन । गिरिजा र सुशील बीपीको लगानीले मात्रै आउनुभएको थिएन, उहाँहरुको आफ्नै लगानी थियो । तर, अहिलेका कोइराला परिवारका सदस्यमा त्यो लगानी छैन ।’

कोइराला परिवारलाई पत्रकारहरुले मात्रै बढी महत्व दिएको गौतमको टिप्पणी छ । ‘अहिले देउवा र रामचन्द्र पौडेललाई किन नेता मानिरहेका छन् ? एउटा कोइरालालाई माने हुँदैन थ्यो ?’ गौतम भन्छन्, ‘पत्रकारहरुले कोइराला परिवारलाई धेरै महत्व दिएको मात्रै हो । कोइराला परिवार, कोइराला परिवार भनेर । कोइराला परिवारकै कारण कुनै पनि मान्छे स्थापित भएका छैनन् । यसो टोपी लगाइदिनु अर्कै कुरा ।’

वंशजको राजनीति दक्षिण एशियाबाट करिब–करिब अन्त्य भएको विश्लेषक गौतम बताउँछन् । भारतीय राजनीति दलको जस्तो चरित्र नेपालका दलहरुमा नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘भारतीय राष्ट्रिय कांग्रेस त परिवारिक पार्टी भइहाल्यो, नेपालका दललाई भारतीय कांग्रेस जसरी हेर्न मिल्दैन । गान्धि परिवारको लिगेसी जस्तो जोड्न खोजेको मात्रै हो । दक्षिण एशियामा पनि त्यो खालको राजनीति अन्त्य हुन लाग्यो । पकिस्तानमा सकियो । बंगलादेशमा पनि करिब अन्तिम–अन्तिम हो, शेख हसिनाको । भारतीय कांग्रेस र भारतको क्षेत्रिय पार्टीहरुमा मात्रै बाचेको छ । परिवारलाई देखाएर भजाउने कुरा अब अतित हुँदैछ ।’

कोइराला बिरासत
कांग्रेसको ७५ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाट बीपीले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए ।

कलकत्ता महाधिवेशन (२००३ माघ १२ र १३)
सभापतिः बीपी कोइराला (कार्यकारी सभापति)

चौथो महाधिवेशन, कलकत्ता (००६, चैत्र २७–२९)
सभापतिः मातृकाप्रसाद कोइराला

पाँचौँ महाधिवेशन, जनकपुर (००९, जेठ १०–१२)
सभापतिः बीपी कोइराला

पार्टी विभाजन (००९ भदौ २१)
सभापतिः मातृकाप्रसाद कोइराला

विशेष महाधिवेशन, विराटनगर (०१४ जेठ १०)
सभापतिः मातृकाप्रसाद कोइराला

सातौँ महाधिवेशन, काठमाडौं (०१७ वैशाख २५–३१)
सभापतिः बीपी कोइराला

नवौँ महाधिवेशन, काठमाडौं (०५३)
सभापतिः गिरिजाप्रसाद कोइराला

१०औं महाधिवेशन, पोखरा (०५७ माघ ६–९)
सभापतिः गिरिजाप्रसाद कोइराला

११औं महाधिवेशन, ललितपुर (०६२ भदौ १४–१७)
सभापतिः गिरिजाप्रसाद कोइराला

एकता महाधविशेन, ललितपर (०६४ असोज ७)
सभापतिः गिरिजाप्रसाद कोइराला

१२औं महाधिवेशन, काठमाडौं (०६७ असोज १–५)
सभापतिः सुशील कोइराला

कोइराला परिवार बाहिर सुवर्णशमशेर जबराले २ वर्ष, कृष्णप्रसाद भट्टराई २० वर्ष र शेरबहादुर देउवाले ६ वर्ष कांग्रेस चलाए । ०१२ मंसिरमा भएको छैटौँ महाधिवेशनबाट सभापति बनेका जबराले २ वर्ष चलाए ।

०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपीका स्वास्थ्यको कारण भट्टराई कार्यवाहक सभापति बने । बीपीको मृत्युपछि भट्टराई ०३९ मा पुनः कार्यवाहक सभापति भए । ०४८ मा आठौँ महाधिवेशनबाट सर्वसम्मति सभापति बनेका उनले २०५३ सम्म सम्हाले । सुशीलको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भए । उनी अहिलेसम्म चलाउँदै आएका छन् ।

अब, देउवा नेतृत्वमा रहने वा नरहने र कोइराला परिवारले बिरासत पुनः स्थापित गर्ने वा नगर्ने १४औं महाधिवेशनले टुंगो लगाउने छ । तर, अहिलेसम्मको अवस्था हेर्दा कोइराला बिरासत पुनःस्थापित हुने सम्भावना कम छ । तर, कोइराला परिवार भएर साझा उम्मेदवार तय गर्ने र देउवा इतरको विश्वास जित्ने हो भने त्यो सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्