चितवन । नेकपा एमालेको १०औंँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । आज बिहान १० बजेबाट सुरू हुने भनिएको बन्दसत्र १२ बज्दासमेत सुरु भएको छैन ।
पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास जारी भएकाले बन्दसत्र सुरु गर्न ढिलाई भएको एक नेताले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्रै बरिष्ठ उपाध्यक्षका आकांक्षी ईश्वर पोखरेल र सुवास नेम्वाङले आफ्नो अडान कामय राखेका छन् । अर्कातर्फ महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले समेत अडान कायम राखेका छन् ।

बरिष्ठ उपाध्यक्ष र महासचिवको सर्वसहमतिका लागि अनौपचारिक रुपमा छलफलमा जारी छ । अहिले अध्यक्ष ओलीले बन्दसत्रस्थलमा नेताहरुलाई बोलाएर सम्झाउने गरिरहेका छन् ।
बन्दसत्र स्थल होटल सेभेन स्टार अगाडि प्रतिनिधि तथा कार्यकर्ताको भीड लागेको छ । सर्वसम्मतिको प्रयास गरिएपनि पदाधिकारीका आकांक्षी धेरै रहेका कारण व्यवस्थापनमा सकस भइरहेको एक नेताले बताए ।
‘१२ गते नसकिए १३, १४ मा सकिएला केही छैन । हामी सकेसम्म सहमतिमै नेतृत्व चयन होस् भनेर लागेका छौँ,’ उनले भने, ‘कार्यकर्ताको मनोविज्ञान पनि सहमति होस् भन्ने छ, हामी त्यहीअनुसार लागेका छौँ ।’












