काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने विषय मोबाइल सन्देशमार्फत पठाएको प्रसङ्ग उल्लेख गरेका हुन् । उनले विगतमा कुनै प्रधानमन्त्रीका सल्लाहकारले यस्तो गतिविधि गरेको भए उनी पदमा रहन सक्थे कि राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो भन्दै प्रश्न गरे ।
अहिलेको सरकार सञ्चालनमा नैतिकता भन्ने कुरा छ कि छैन भन्ने उनको प्रश्न छ । पौडेलले आईजीपी प्रकरणमा सरकारले लिएको निर्णय र त्यससँग जोडिएका घटनाक्रमबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । सरकारमा रहेकै कारण प्रधानमन्त्री र उनका सल्लाहकारमाथि उठेका प्रश्नको जवाफदेहिताबाट उम्किन नमिल्ने उनको भनाइ छ । उनले सरकारले कसैलाई पनि कानुनी प्रक्रियाबिना पक्राउ गर्ने, थुनामा राख्ने वा छानबिन गर्ने छुट नपाउने बताए ।
काँग्रेस सभापति तथा पार्टीका अन्य नेतामाथि समेत कानुनसम्मत ढङ्गले छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उनले त्यसका लागि कानुनी विधि र न्यायिक मर्यादा पालना हुनुपर्नेमा जोड दिए । सरकारले दुई तिहाइको जनमत प्राप्त गर्दैमा आफूले गरेका सबै निर्णय स्वीकार गर्नुपर्ने र कसैले प्रश्न उठाउन नपाउने मानसिकता राख्न नहुने पौडेलको टिप्पणी छ । सरकारलाई प्रश्न गर्ने नागरिकको अधिकार कुण्ठित गर्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने उनले चेतावनी दिए ।
उनले विचौलियाको चलखेल अन्त्य गर्ने नाममा राजनीतिक प्रतिशोध साँध्ने नभई निष्पक्ष अनुसन्धान र कानुनी शासनको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे ।


















