पाल्पा । तानसेन बजारबाट करिब तीन किलोमिटर पुर्वी दूरीमा अवस्थित पाल्पा बगनास कोटघर पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
गनासकाली गाउँपालिका वडा नम्बर ९ मा पर्ने यहाँको कोतघर तानसेनको श्रीनगर डाँडाभन्दा केही उचाइमा छ । पछिल्लो समय यो क्षेत्रको बिकास गर्न गाउँपालिका र स्थानीय सक्रिय भएर लागेका छन् ।
तानसेन नगरपालिका वडा नम्वर १ सँग जोडिएको यो बगनास कोतघरको आफ्नै एतिहासिक महत्व रहेको स्थानीय यज्ञ श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘कोतघर नजिक रहेको चेचिकोटि देवीथानप्रति मनोकामना पूरा हुने हुनाले यश क्षेत्रका बासिन्दाको आस्था र महत्व बढेको छ ।’ यो हराएको बच्चा फेलापरेको ठाउँ पनि भएको उनी बताउँछन् ।

समुद्री सतहदेखि करिब १५०० मिटर उचाइमा अवस्थित श्री चेचीकोटी देवीको मन्दिर बगनास डाँडामा रहेको छ । किम्बदन्तीअनुसार सानो बच्चा हराएको र उक्त बच्चालाई बाघले जंगलमा संरक्षण दिएर राखेको अवस्थामा पाइएको सुन्नमा आएको स्थानिय यज्ञ श्रेष्ठले जानकारी दिए ।
धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो क्षेत्रमा थप भौतिक संरचना निर्माण र भएका संरचनाको संरक्षण गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।
यहाँबाट उत्तरतिर हिम दृश्य र वरिपरि नागबेली पहाड र दक्षिणातिर माडीफाँटको मनमोहक दृश्य प्रष्ट देख्न सकिन्छ । कोतमा रहेको निर्माणाधिन टावर बजेट अभावले पूरा हुन नसकेको स्थानीय बताउँछन् ।
नेपाल टेलिभिजनको प्रशारण केन्द्रसमेत रहेको यो ठाउँमा घुम्न, पिकनिक भर्न र देवीको दर्शन गर्न मानिस पुग्ने गरेको एक होटल सचालक बताउँछन् । बगनासकाली कोतघरमा माउन्ट एभरेस्ट रेष्टुरेन्ट एण्ड होटल सचालक रामु श्रेष्ठ यहाँ निर्माणाधिन टावर पूरा भए यस क्षेत्रको अझ चहलपहल बढ्ने बताउँछन् ।
बगनास गाउँ पुरानो भोटे कुलुप चावी बनाउने ठाउँ भएकाले पनि आफँै परिचित छ । पछिल्लो समय यस क्षेत्रमा चहलपहल बढ्दै गएपनि सडक पक्की नहुँदा समस्या रहेको स्थानीयको भनाइ छ ।
यस क्षेत्रमा पर्यटक आकर्षण गर्न शिव, गणेश, भगवती मन्दिर, पाटी पौवा, सडक लगायतका विभिन्न संरचना बनाइएको भनिएपनि पर्याप्त छैन । यहाँको कोतघरमा खासगरी दशैंको नवदुर्गा र चैते दशैँमा स्थानीय पुजाआजामा सामेल हुने र चेचीकोटी देवी मन्दिरमा भाकलअनुसार बलि, पञ्चवली चढाउनेको भीड लाग्ने गरेको छ ।












