Logo
Logo

कम्युनिष्टलाई कमजोर बनाउन एमाले विभाजन गरियो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता नचाहने शक्तिहरुले नेकपा एमाले विभाजन गराएको आरोप लगाएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्र्तगत जारी बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट शक्ति एक भएको हेर्न नसक्नेहरुका कारण पार्टी विभाजन भएको बताएका हुन् । कम्युनिष्ट शक्तिलाई कमजोर बनाउने शक्तिसँग पार्टी भित्रकै नेताहरु मिलेका कारण पार्टी विभाजन भएको ओलीको भनाइ थियो ।

बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘विश्वमा कम्युनिष्ठ आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला पार्टी एकता गरिएको थियो । त्यो एकता पनि टिक्न सकेन । अन्तत पार्टीका केही नेता सोही शक्तिसँग मिलेर नेकपा एमाले विभाजन गराए ।’

अध्यक्ष ओलीले राजनीतिमा प्रवेश गर्न नमिल्ने संस्थाहरुको संलग्नतामा नेकपा एमालेलाई सत्ताबाट अलग्याइएको बताउँदै उत्त कार्य गलत रहेको धारणा राखेका छन् । जनमत आफ्नो पक्षमा रहँदा रहँदै पनि सरकारबाट बाहिरिनु पर्नेको भन्दै ओलीले भने– ‘राजनीतिमा संलग्न हुनै नहुने संस्था प्रयोग गरेर हामीलाई सरकार छोड्न बाध्य बनाइएको हो । हामी जनमत नभएर सरकारबाट बाहिरिएको हैन ।’

अध्यक्ष ओलीले एमाले कमजोर नभए झनै बलियो भएको समेत बताएका छन् । उद्धघाटनसत्रको जनसागरले नै एमाले झनै बलियो भएको पुष्टि गरेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्