Logo
Logo

अनि बल्ल चाल पाए ओलीले एमाले विभाजन



काठमाडौं । संविधान लेखन प्रकृया प्रारम्भ भएदेखि नेकपा एमाले दुईपटक विभाजन भएको छ । ७ मंसिर २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईले एमाले विभाजन गरे । अशोकको नेतृत्वमा संघीय समाजवादी पार्टी, नेपाल गठन भयो । संविधान लेखनका क्रममा पहिचानको मुद्धामा एमाले ‘रिजिट’ बन्दा एमाले विभाजन भयो ।

९ भदौं २०७८ मा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायो । माधवको नेतृत्वमा एकीकृत समाजवादी दर्ता हुँदा औपचारिक रुपमा एमाले दोस्रोपटक विभाजन भयो ।

अशोक राईको नेतृत्वमा पार्टी विभाजन हुँदा केपी शर्मा ओली नेतृत्वमा आएका थिएनन् । तर, पनि प्रभाशाली नेता थिए । माधव नेपालको नेतृत्वमा पार्टी विभाजन हुँदा ओली एमालेका अध्यक्ष थिए ।

यी दुई विभाजनलाई ओलीले कहिले पनि ‘विभाजन’ भनेनन् । विभाजनको रुपमा स्वीकार गर्न कहिले तयार भएनन् । बरु, भन्दै आएका थिए– ‘पात झर्दैमा रुख मर्दैन । रुख भए फेरि पलाउँछ । दुई–चार जनाले बाटो बिराएका हुन् । केही दिनमा पार्टीमै फर्कन्छन् ।’

पछिल्लो एक दशकमा एमाले दुईपटक विभाजन हुँदा पनि ओलीले सार्वजनिक रुपमा ‘पार्टी विभाजन भयो’ भन्न सकेका थिएनन् । तर, १०औँ महाधिवेशनमा ओलीले दोहोर्‍याई–दोहोर्‍याई पार्टी विभाजनको प्रशंग कोट्याए ।

ओलीले भने– ‘पार्टी सामान्य अवस्थाबाट यहाँसम्म आइपुगेको होइन । दुई–दुई पटक विभाजन भएपनि सम्हालेर ल्याइएको छ ।’ ओलीको मुखबाट ‘पार्टी विभाजन भयो’ भनेर सुनिएको यो नै पहिलोपटक हो ।

ओलीले अशोक राईको नेतृत्वमा भएको जिभाजनलाई छोडेर नेकपा विभाजन यताको विभाजनलाई मात्र पार्टी विभाजन भनेका हुन् । नेकपा विभाजन भएर एमाले र माओवादी व्युँतिएको घटना र एमाले व्युँतिएपछि माधव नेपालको नेतृत्वमा भएको विभाजनलाई ओलीले ‘पार्टी दुई–दुई पटक विभाजन भयो’ भनेका हुन् । अर्थात, ओलीलाई बल्ला ‘पार्टी विभाजन भएकै हो’ भन्ने महसुस गरेका हुन् ।

ओलीलाई कसरी महसुस भयो विभाजन ?

माधवको नेतृत्वमा भएको विभाजनलाई पनि ‘केहीले बाटो विराए’मात्रै भन्दै आएका ओली १०औँ महाधिवेशनसम्म पुग्दा ‘साँच्चिकै विभाजन भएकै हो’ भन्ने अवस्थामा पुग्नुपर्ने धेरै कारण छ ।

भावनात्मक कारण

माधवको नेतृत्वमा एमाले विभाजन भएपछि एमालेका हरेक मञ्च अपूर्ण देखिन्छ । एमालेलाई यो अवस्थामा ल्याइपु¥याउन पसिना बगाएका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम आज एमालेको मञ्चमा देखिन्न । नेता कार्यकर्ताले उनै एमालेका ‘ट्रेडमार्क’ माधव, झलनाथ र वामदेव खोजिरहेका छन् । ओलीलाई पनि त्यहीँ खड्केको हुनसक्छ । त्यतिमात्र होइन, देशभर पार्टी विभाजन भएको छ । कार्यकर्ता घटेका छन् । त्यसैले ‘एमाले विभाजन भएकै हो’ भन्ने महसुस भएको हुनसक्छ ।

शक्तिविहीनताको असर

एक वर्ष अगाडिसम्म ओली इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष थिए । दुईतिहाइ नजिक मतको शक्तिशाली प्रधानमन्त्रीको रुपमा ओलीको हालिमुहाली थियो । प्रदेशहरुमा पार्टीकै सरकार थियो । तर, आज ती सबै शक्ति एकपछि अर्को गर्दै खोसिएको छ । सत्ता उन्मादको अनपेक्षित आडम्बरबाट एमाले एकैपटक सडक पुगेको छ । यस्तो अवस्थामा सबै गुम्यो भन्ने एमाले र ओलीलाई लागेकै छ । ओलीलाई आज लाग्दो हो– ‘सबथोक गुम्यो ।’ त्यसैले पार्टी विभाजन भयो भन्ने अवस्थामा पुगे ।

अँध्यारो भविष्यको चिन्ता

सवैतिर सत्ता गुमाइसकेको एमालेका लागि आगामी दिन पनि सुःखद देखिन्न । वर्तमान सत्ता गठबन्धन कायमै रहे देशभरबाट ‘क्लिन स्वीप’ व्यहोर्न एमाले तयार हुनुपर्छ । सार्वजनिक भाषणमा ओलीले आगामी निर्वाचनबाट एमालेले एकल बहुमत प्राप्त गर्छ भनिरहेपनि सहज छैन । यसरी आगामी दिन पनि उज्याले नदेखेपछि ओली ‘साँच्चिकै पार्टी विभाजन भएकै हो’ भन्ने अवस्थामा पुगेका हुन् ।

पार्टी विभाजनको कारणबारे ओलीका अनेक कुरा छन् । नेकपा र एमाले भिाजनलाई ओलीले विभिन्न कोणबाट ब्याख्या गर्दै आएका छन् । मुख्यतः विकास र समृद्धि नचाहने शक्तिका कारण पार्टी विभाजन गरियो, सरकार ढालियो भन्दै आएका छन् । तर, ओली यो अवस्थासम्म पुग्नको मुख्य कारण ओली नै हुन् भन्ने प्रमाणित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्