काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ ।
सत्तारूढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने र महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त भएको बताए ।
प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए । प्रधानन्यायाधीश जबरामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने जानकारी समेत दिए ।
त्यस्तैदलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको बिडारीले बताए । सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानबिन गर्ने प्रतिबद्धता समेत जनाए।
सांसद बिडारीले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताए ।












