Logo
Logo

‘तिम्ले बाटो फेर्यौं अरे-३’ कसरी सस्पेन्स बन्यो ? (भिडियोसहित)



काठमाडौं । गीतकार दर्पण राईको महत्वकांक्षी गीत ‘तिम्ले बाटो फेर्यौं अरे’को तेस्रो सिरिज सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर र संगीत विक्रम राईको रहेको ‘तिम्ले बाटो फेर्यौं अरे-३’ शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतकार दर्पणले ‘तिम्ले बाटो फेर्यौं अरे’ पहिलो पटक सन २०१५ मा ल्याएका थिए । पहिलोपटक नै गीतले तहल्का मच्चाएपछि यस गीतलाई विभिन्न भर्सनमा दर्पणले सार्वजनिक गर्दै आएका छन् ।

‘तिम्ले बाटो फर्यौं अरे’ मेल, फिमेल र चाइल्ड भर्सनमा आइसकेको छ । तर, सुरुदेखि नै यस गीतमा गायिका मेलिना राई जोडिँदै आएकी छन् ।
नेपाली सांगीतिक क्षेत्रका लागि ‘तिम्ले बाटो फेर्यौं अरे’ एउटा टर्निङ प्वाइट हो, जसले नेपाली संगीत क्षेत्रमा ट्रेण्ड नै परिवर्तन गर्न सफल भएको थियो । यस गीतको पहिलो र दोस्रो सिरिजलाई युटुबमा करोड भन्दा बढीले भ्युअर्स पाएको थियो । त्यस्तै चाइल्ड भर्सनलाई समेत रुचाइएको थियो । तैपनि मेलिनाको स्वरलाई अझैपनि रुचाइरहेका छन् । ‘तिम्ले बाटो फेर्यौं अरे–३’ सम्म पुग्दा पनि मेलिनाले निरन्तरता पाउनु यसैको पुष्टि गर्नु हो ।

तेस्रो सिरिजसम्म आइपुग्दा कतै न कतै यस गीतका पात्रहरु सुरुदेखि नै जोडिँदै आएका छन् । गीतको कथावस्तुले समेत निरन्तरता पाइरहेको छ । यस गीतको पछिल्लो समय मोडल तथा कोरियोग्राफर सम्झना राई पनि जोडिएकी छन् ।

‘तिम्ले बाटो फेर्यौं अरे–३’मा सम्झनालाई पनि तस्बिरमा फिचर गरिएको छ, जसले गीतको भाव प्रस्तुत गर्छ । साथै, भिडियोमा गीतकार दर्पण राई र गायिका मेलिना मुख्य पात्रमा प्रस्तुत छन् । यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

‘गीत सार्वजनिक गरेपछि मोडल समेत रहेका गीतकार दर्पणले भने, ‘अब ‘तिम्ले बाटो फेर्यौं अरे’को एउटामात्र सिरिज आउँछ । त्यसपछि कथा पूरा हुन्छ ।’ ‘तिम्ले बाटो फेर्यौं अरे’ लभ सेन्टिमेन्ट गीत हो । यसै गीतमार्फत गीतकारका रुपमा ख्याती कमाएका दर्पणले यसै नाममा फिल्म समेत निर्माण गर्दैछन् ।

‘चौथो सिरिज आएपछि फिल्मको काम सुरु हुन्छ’ उनले भने, ‘फिल्मले पनि गीतकै कथा चित्रण गर्छ ।’ ‘तिम्ले बाटो फेर्यौं अरे’ एउटा विशुद्ध लभ स्टोरी बोकेको गीत हो । गीतमा एउटा असल प्रेमीको भावनालाई कलात्मक रुपमा चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्