Logo
Logo

एमालेमा जिम्मेवारी बाँडफाँड : यी हुन् स्थायी कमिटीका ४५ नेता



काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा बस्दैछ ।

बैठकले स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन, नेताहरुको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित लगायत बिषयमा छलफल हुने एजेण्डा रहेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन हुन्छ । एमालेको १० औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

को–को नेता हुँदैछन् स्थायी कमिटी सदस्य ?

केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी गठन हुन्छ । त्यस अघि अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली आफू निकट नेताहरुसंग अहिले दिनहुँ छलफल गरिरहेका छन् ।

स्थायी कमिटीमा क–कसलाई ल्याउँने बारेमा छलफल गरिरहेका अध्यक्ष ओलीले उनीहरुको नाम करिब टुंगो लगाईसकेका छन् । महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा पर्नेछन् । त्यसबाहेक २६ जनाको नामावली अध्यक्ष ओलीले टुंगो लगाईसकेको स्रोतको दावी छ ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

यस्तै यस अघि एमाले स्थायी कमिटी सदस्य रहिसकेका घनश्याम भुसाल, भीम आचार्य, रघुजी पन्त, मणि थापालाई पनि स्थायी कमिटी सदस्य बनाउने तयारी अध्यक्ष ओलीको रहेको छ ।

१०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र अघिल्लो कमिटीमा स्थायी कमिटी भित्र रहेकाले उनीहरुलाई पुनः स्थायी कमिटीमा ल्याउँन ओलीले आफ्नो लिष्टमा राखेका छन् ।

तर अध्यक्षमा ओलीसंग पराजित भएका भीम रावल स्थायी कमिटीमा नपर्ने स्रोतको दावी छ । अध्यक्षमा पराजित रावलले केन्द्रीय सदस्यको सपथ समेत नलिएकाले उनलाई स्थायी कमिटीमा नराख्ने ओलीले आफू निकट नेताहरुलाई बताउँदै आएका छन् ।

यस्तै थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, भानुझत ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, हिक्मत कार्की, जगत विश्वकर्मा, देवराज घिमिरे, शेरधन राई स्थायी कमिटी सदस्य बन्ने निश्चित भएको छ ।

यस्तै कर्ण थापा, काशिनाथ अधिकारी, अरुण नेपाल, बैजनाथ चौधरी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोरख बोगटी, गोकुल घर्ती, कृष्णगोपाल श्रेष्ठ स्थायी कमिटीमा पर्नेछन् ।

‘केन्द्रीय कमिटीको बैठकबाट हामीले स्थायी कमिटी र पोलिटव्युरो कमिटीमा रहने नेताको टुंगो लगाउँनेछौं । त्यस अघि हामी छलफल गरिरहेका छौँ । अध्यक्ष कमरेडलाई हामीले सुझाव दिएका छौं । उहाँले सबैलाई समेटेर कमिटी गठन गर्ने भन्नुभएको छ’ एमालेका ति नेताले भने ।

केन्द्रीय कमिटीको बैठकबाट नेताहरुको जिम्मेवारी बाँडफाँड समेत हुने उनले बताए । त्यसका लागि आवश्यक गृहकार्यमा जुटेको र सबै केन्द्रीय सदस्यहरुलाई न्यायोचित र क्षमताका आधार जिम्मेवारी बाँडफाँड हुने दावी उनको छ ।

प्रतिक्रिया दिनुहोस्