Logo
Logo

समयअनुसार परम्परागत नीतिनियम परिवर्तन गर्नु पर्छ : ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनको ४५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ । यसका लागि राज्यले अग्रसरता लिनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने समेत बताए ।

‘अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने ।

विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उपाध्यक्ष ढकालले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्