Logo
Logo

लोकप्रियतावादबाट उदाएका शासकहरूको हालत


डा.दीपेश केसी

0
Shares

रुसबाट कच्चा तेल नकिन्न भारतलाई दबाब दिने अमेरिका आफैले रुससँग डिजेल खरिद सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १० अक्टोबरमा ९० मिनेट लामो टेलिफोन वार्तापछि यो घटना विकास भएको हो । ट्रम्पले रुसबाट डिजेल आयातको सहमति गरेर अमेरिकी बजारमा चर्को मूल्यवृद्धिलाई नियन्त्रण गर्न खोजेका छन् । यसबाट उनले आउन लागेको चुनावमा आफ्नो दल रिपब्लिकनलाई बलियो बनाउन खोजेका छन् ।

ट्रम्पले पुटिनसँग नयाँ सहमति बनाएलगत्तै युक्रेनले नयाँ राष्ट्रपति पाउनुपर्ने समय भइसकेको बताएर तरङ्ग ल्याइदिएका छन् विश्व राजनीतिमा । युद्ध अन्तको सहमति निकाल्ने नयाँ नेता आउनुपर्नेमा उनको जोड छ । यो घटनाले जेलेन्स्कीलाई ठूलो झड्का परेको छ ।
 
जेलेन्स्की नेतृत्वको युक्रेन रुससँगको युद्धमा निकै खस्किइसकेको छ । दसौँ हजारको ज्यान गइसकेको छ । दसौँ अर्ब डलर क्षति पुगेको छ । रुसले जति गुमाएको छ त्यो भन्दा कैयौँ गुणा युक्रेनले गुमाइसकेको छ । चार वर्ष लामो युद्धका क्रममा युक्रेनले ठूलो भू–भाग गुमाइसकेको छ । युद्ध अन्त भएपछि उसले पुगेको क्षति र गुमेको भूभाग प्राप्त गर्ने सम्भावना न्यून छ । 

अहिले आएर ज–जस्ले युक्रेनलाई साथ दिएका थिए तिनले साथ छाड्दै गएका छन् । अमेरिकाले त साथ मात्र छाड्दै छैन उल्टै रुससँग डिजेल खरिदको नयाँ सम्झौता गरेको छ । अमेरिका आफ्नो स्वार्थमा युद्ध र शान्तिका सम्झौता जुनसुकैबेला गर्न तयार हुन्छ भन्ने सन्देश समेत दिएको छ । 

जेलेन्स्की प्रयोग

जोक्करका रूपमा अभिनय गर्ने लोकप्रिय कलाकार भ्लादिमिर जेलेन्स्कीको युक्रेनको राष्ट्रपतिमा विजय नाटकीय घटना नै थियो । लोकप्रियताले उनलाई युक्रेनको सत्तामा मात्र पु¥याएन बलियो छिमेकी रुसको सामरिक स्वार्थलाई नै चुनौती दिने हदमा पु¥यायो । विश्वभर प्रोपोगान्डामार्फत् पुटिनभन्दा लोकप्रिय बनाइएका जेलेन्स्की नेतृत्वको युक्रेनले रुसलाई चुनौती दिने नीतिहरू अगाडि सार्न थाल्यो । 

युक्रेन रुसबाट टाढिँदै पश्चिमा शक्तिसँग निकट बन्ने दिशामा गयो । अमेरिका, बेलायत, फ्रान्ससहित नाटो देशहरूको उक्साहटमा जेलेन्स्कीले युक्रेनलाई नाटो सदस्य राष्ट्र बनाउन खोजे । रुस विरोधी भावना विकास भयो युक्रेनमा । सामरिक महत्वको युक्रेन नाटो सदस्य राष्ट्र बनेमा आफ्ना लागि सुरक्षा खतरा बढ्ने देखेर रुस रोक्न लाग्यो । उसले युक्रेनमाथि सैन्य हमला नै ग¥यो । 

अमेरिकासहित नाटो सदस्य राष्ट्रहरूले रुससँग लड्न जेलेन्स्की नेतृत्वको युक्रेनलाई सैन्य सहयोग गरिरहे । त्यो सयौँ अर्ब डलरको थियो । युक्रेन सपोर्ट ट्राकरको तथ्याङ्क अनुसार युक्रेनलाई सहयोग गर्नेको सूचीमा अमेरिका सबैभन्दा अगाडि छ । उसले १३३ अर्ब डलर सहयोग गरेकोमा आधा हतियारसहित सैन्य छन् ।

युरोपेली युनियनले ११० अर्ब डलर सहयोग गरेकोमा सबैभन्दा बढी आर्थिक र केही सैन्य छन् । जर्मनीले ३५ अर्ब डलर सहयोग गरेकोमा अधिकांश हतियार छन् । बेलायतले २६ अर्ब डलर सहयोग गरेकोमा अधिकांश हतियार नै छन् । क्यानडाले १६ अर्ब, जापानले १४ अर्ब डलर सहयोग गरेका छन् । 

त्यसैगरी, डेनर्माक, स्वीडेन र नर्वेलेले १३–१३ अर्ब डलर सहयोग गरेकोमा अधिकांश हतियार छन् । नेदरल्यान्डले १२ अर्ब डलर सहयोग गरेकोमा अधिकांश हतियार नै छन् । पश्चिमा र उसका निकटस्थ देशहरूले युक्रेनलाई हतियार, आर्थिक र मानवीय सहयोग गरिरहे पनि युद्धमा रुस पराजित भएन । युद्धले युरोपमा इन्धनको मूल्य वृद्धि भयो । दैनिक उपभोग्य सामाग्रीको चर्को मूल्यवृद्धिले जनजीवन प्रभावित भयो । युरोप आर्थिक रूपमा खोक्रो हुँदै गएको तथ्यहरू खुल्दै गएका छन् । 

युक्रेन युद्धबाट रुसलाई साइजमा ल्याउने अमेरिका र युरोपेली देशहरूको प्रयास प्रत्युत्पादक हुँदै गयो । विशेषगरी अमेरिकाले ठूलो चुनौती भोग्ने देख्यो । रुसी तेल प्रशोधन केन्द्रहरूमा युक्रेनको ड्रोन हमलाले विश्व तेल बजार प्रभावित बन्यो । त्यसको असर अमेरिकी जनताको चुल्होसम्म पुग्न थाल्यो । जुन थेग्न अमेरिकालाई हम्मे परेपछि ट्रम्पले युक्रेनलाई साथ दिनको साटो उल्टै जेलेन्स्कीको विकल्प खोज्ने उपाय सुझाए । 

उनले आफ्ना विश्वासपात्रहरुलाई रुससँग सहमतिको सूत्र पहिल्याउन निरन्तर वार्तामा खटाए । ज्वाईँ जरेड कुश्नर मस्को नै पुगेका थिए । दूतहरुमार्फत् भएका वार्ता र पछिल्लो टेलिफोन वार्ताले ट्रम्पले पुटिनसँग भद्र सहमति गरेको चर्चा विश्वभर छ । जसका कारण जेलेन्स्कीको सत्ता डगमगाएको छ । उनी युज एण्ड थ्रोमा पर्न सक्ने देखिएको छ । 

औचित्य सकिएको संकेत

सोभियत सङ्घ विघटनपछि थिलथिलो भएको रुस पुटिनको शासनकालमा फेरि बलियो हुँदै गयो । एशिया र अफ्रिकासम्म रुसको बढ्दो प्रभाव देखिँदै गयो । अफगानिस्तानमा जुन तालिवानबाट लखेटिनुपरेको थियो त्यही तालिवानसँग निकटता बढाएर रुसले रणनीतिक स्वार्थ पूरा गरेको थियो । पश्चिमाको एकछत्र प्रभाव अफगानिस्तानमा अन्त गराइदिएको थियो । 

सन् २०२१ मा तालिवानले सत्ता लिएपछि अमेरिकी सैनिक अफगानिस्तान छाड्न बाध्य भए । बेलायती सैनिक पहिल्यै अफगानिस्तान छाडिसकेका थिए । पश्चिमा देशका लागि यो ठूलो धक्कामात्र नभई लज्जाको विषय थियो । यसका पछाडि रुसका भूमिका थियो । 

अफ्रिकामा फ्रान्सको प्रभाव रहेको देशहरुमा रुसको समर्थनप्राप्त सैनिक शासकहरू धमाधम उदाउन थाले । प्रोक्सी युद्ध चल्न थाले विश्वभर । युक्रेन युद्ध रुसविरुद्धको प्रोक्सी युद्ध बन्न थाल्यो । जेलेन्स्कीको उदय योजना अन्तर्गत नै भएको थियो । लोकप्रियताको जगबाट उठेका जेलेन्स्कीले उग्र राष्ट्रवादको मुद्दाले रुसलाई चुनौती दिने गतिविधिका लागि उक्साइए । हतियार ओइरियो अमेरिकासहित नाटो देशहरूबाट । आणविक शक्तिसम्पन्न रुसको राजधानीसम्म हमलाहरु गर्न थाले । तर, उनको देशको सीमा खुम्चदै गइरहेको थियो । 

रुसलाई साइजमा राख्ने पश्चिमा रणनीतिहरु असफल हुँदै जान थाले । रुसले एशियातर्फ आफ्ना प्राकृतिक स्रोतको बजार देख्न थाल्यो । चीन र भारतलाई इतिहासमै कहिल्यै नबचेको भारी मात्रामा कच्चा तेल बेच्न थाल्यो । तेल बोक्ने जहाजका लागि आर्टिक महासागरको नयाँ मार्ग सुरु गराउन थाल्यो । 

यसैबीच, रणनीतिक दाउपेचहरू चलिरहे । इरान युद्धमा स्ट्रेट अफ हर्मुज जलमार्ग कब्जा गर्ने अमेरिकी रणनीति विफल भयो । बरु लाल सागरतर्फको मार्गमा इरान समर्थित हुथीले नियन्त्रण बनाउन थाले । जसका कारण कच्चा तेलसहित सामान ढुवानी गर्ने मार्गहरु अवरुद्ध हुँदा विश्व अर्थतन्त्र प्रभावित भयो । 

यसको नोक्सानी अमेरिका र युरोपका देशहरूले भारी रूपमा भोग्न थाले । अमेरिका रुससँग सहमतिको हात बढाउने वाध्यात्मक अवस्थामा पुग्यो । जुन उद्देश्यले जेलेन्स्की खडा गरिएको थियो तिनको औचित्य समाप्त भएको निष्कर्षमा ट्रम्प पुगेको हुनुपर्छ । 

पतनको डिलमा 

इतिहास र भूगोलको बेवास्ता गरेर लोकप्रियताको मात्र आँड लिएर कदम चाल्ने शासकहरू पतन हुँदा तिनको औचित्य मात्र सकिँदैन बदनामको कलङ्क नै लागेर जान्छन् । इराकमा सद्दाम हुसेन हुन् या लिबियामा कर्णेल गद्दाफी नै किन नहुन् लोकप्रियताको शिखरमा थिए । जब पतन भए कलङ्कित नै पारिए । तिनको उदयका पछाडि शक्तिराष्ट्रको रणनीतिक स्वार्थ नै थियो । 

कुनैबेला बेलायती सैनिकको शिविरमा खाना पकाउने युगाण्डाका तानाशाह इदि अमिन पनि सुरुमा लोकप्रिय थिए । तर, उनलाई कालान्तरमा यति बदनाम बनाइयो कि उनका बारेको किस्सा डरमर्दो छ । क्षेत्रीय राजनीतिलाई अस्थिर बनाउन लोकप्रियताको नाममा अराजकहरूको उदय शक्तिराष्ट्रहरुबाट हुने गर्छ । तर, जब तिनको औचित्य सकिन्छ तब तिनलाई साथ दिनु त परै जाओस् उल्टै बदनाम बनाइदिन्छन् । 

जेलेन्स्कीको हालत त्यही अवस्थामा पुगेको छ । संसारभर लोकप्रिय बनाइएकाहरु जब भूराजनीतिको चक्रव्यूहलाई बुझ्दैनन् तब आफू त पतन भइहाल्छन् देशलाई न चक्रव्यूहमा फसाउन पुग्छन् । पाकिस्तानका सैनिक तानाशाह जनरल जियाउल हक भन्ने गर्दथे कि जति छिटो उचाइमा पुगिन्छ उति छिटो झरिन्छ । पश्चिमा शक्तिको रणनीतिक स्वार्थ पूरा गर्न लोकप्रियताको आँडमा सत्ताको उचाइमा पुगेका जेलेन्स्की चाँडै नै पतनको डिलमा पु¥याइएका छन् । उनको पतन सुरु भइसकेको छ । यसले भूराजनीतिक असर र त्यसले पार्ने हानि नोक्सानीका विषयमा जुनसुकै देशका शासकहरू पनि सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्