Logo
Logo

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य


0
Shares

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।
सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । 

The current image has no alternative text. The file name is: gaddacchauki.jpg

भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको सङ्क्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए । “सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ”, भट्टले भने, “टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ ।” नाकामा आउने यात्रुमध्ये भारतका मलेरिया, डेङ्गीलगायतका सङ्क्रामक रोग बढी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्यरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 
असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा अहिलेसम्म दुई जनामा टिभी पोजेटिभबाहेक अन्यमा सङ्क्रमण देखिएको छैन । प्रहरीको तथ्याङअनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक दुई हजार मानिस नेपाल फर्किरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ । 

यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमानाकालगायत जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेकाले यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए । 

“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्युनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।”  

प्रतिक्रिया दिनुहोस्