Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

वर्ष दिनपछि मञ्च शेयर गर्दै ओली, प्रचण्ड र नेपाल !




काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार दिउँसो १ बजे सुरु हुने महाधिवेशनमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरुलाई पनि निम्तो दिइएको छ ।

कांग्रेसको निम्तोलाई स्वीकार्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल महाधिवेशनमा सहभागी हुने पक्का भइसकेको छ । तर, एमाले अध्यक्ष ओली सहभागी हुन्छन् वा हुँदैनन् भन्ने टुंगो छैन किनकि, ओली रुघा खोकीका कारण अस्वथ्य छन् ।

अस्वथ्य भएकै कारण बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा समेत उनी गएनन् । तर, आफू महाधिवेशनमा आउने बाचा कांग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

यदि, एमाले अध्यक्ष ओली कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए तीन नेता एउटै मञ्चमा देखिनेछन् । ओली, प्रचण्ड र नेपाल लामो समययता एउटै मञ्चमा देखिएका छ्रैनन् ।

तत्कालीन नेकपाको किचलो र विभाजनपछि एउटै मञ्चमा नदेखिएका उनीहरु ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछ ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको १०औँ महाधिवेशनमा भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी भएका थिएनन् । कार्य व्यस्तता देखाउँदै उनले नेता हरिबोल गजुरेलाई प्रतिनिधिका रुपमा पठाएका थिए ।

कांग्रेसको आजदेखि सुरु हुने १४औँ महाधिवेशनमा ४ हजार ७ सय प्रतिनिध सहभागी हुँदैछन् । तीमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । यस महाधिवेशनले १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्