Logo
Logo

होटलमा युवतीसँग भेटिए कैदी


- दृष्टि न्युज/संवाददाता


धादिङ, जेठ ७ ।
प्रहरीमै मिलेमतोमा कैदीहरु युवती लिएर होटल जाने गरेको खुलेको छ । धादिङका एक कैदी होटलमा युवतीसँग बसेको भिडियो सार्वजनिक भएको छ ।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङ प्रहरीसँष् सेटिङ मिलाएर होटल गएका हुन् । उनलाई ०७२ सालमा जवरजस्ती करणीको मुद्दामा ११ वर्षको जेल सजाय तोकिएको थियो । अदालतको आदेशअनुसार तामाङ कारागारभित्र हुनुपर्ने हो । तर उनी सदरमुकामका होटलमा मोजमस्तीमा रमाइरहेको भिडियो सार्वजनिक भएको छ ।


अझ रोचक त के छ भने तामाङलाई होटलको कोठाभित्र राखेर बाहिरबाट ताल्चा लगाएर उनको सुरक्षाका लागि बियर खाँदै सादा पोशाकका प्रहरीहरु नै पहरा दिइरहेका छन् ।
गम्भीर बिरामी र एकदमै जटिल अवस्था बाहेक अरु बेलामा बाहिर जान नपाइने धादिङ कारागारका निमित्त प्रमुख मदनकुमार श्रेष्ठ बताउँछन् ।

नेपाल सरकारले तोकेका निश्चित क्रियाकलापभन्दा बाहेक अरु कुनै पनि काम कारागारभित्र गर्न पाइँदैन । तर धादिङ कारागारभित्र भने जुवातास खेलाउने र बजारमूल्य भन्दा ५ गुणा महंगोमा बाहिरबाट मदिरा ल्याएर बिक्री गर्ने गरिएको कारागारबाट बाहिरिएकाहरु नै बताउँछन् ।
कारागारभित्रका पैसावाल कैदीबन्दीले चौकीदार र कारागार सुरक्षाका लागि खटिएका प्रहरीलाई घूस खुवाएर बाहिर मोजमस्ती गर्न जाने, कारागारभित्रै जुवातास खेल्ने र मदिरा सेवन गर्ने गरेका छन् भने पैसा नहुनेहरु चौकीदारको शोषणमा बस्न बाध्य हुने गरेका छन् ।

धादिङको कारागारका केही कैदीबन्दीले आफूहरु शोषणमा परेको भन्दै न्यायिक छानबिनको माग गर्दै कारागार व्यवस्थापन विभाग काठमाडौंलाई लेखेको पत्रसमेत सार्वजनिक भएको छ । सम्पूर्ण कैदीबन्दीका तर्फबाट भन्ने लेखिएको पत्रमा प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयलाई समेत बोधार्थ लेखिएको छ ।
भिडियो सार्वजनिक भएपछि कारागारमा छानबिन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्