Logo
Logo

जनयुद्ध थाल्ने माओवादीका १९ केन्द्रीय सदस्य को कता छन् ?



काठमाडौं । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्ध थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरु अहिले तिरवितर भएका छन् । कोही राज्यपक्षबाट वेपत्ता पारिए भने केहीले जनयुद्धका क्रममा सहादत प्राप्त गरे ।

व्यवस्था नै परिवर्तन गर्ने हैसियत बनाएको माओवादी समयक्रमसँगै विभाजित भएर आठ वटा पार्टी समेत बन्यो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय पुनः मुलप्रवाहमा फर्केका छन् भने कतिपय गैरकम्युनिष्ट पार्टीका नेताको रुपमा राजनीति गरिरहेका छन् ।

माओवादीमा विभाजन र एकताको इतिहास उत्तिकै छ । तीन दशकदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्दै आएको माओवादी यतिखेर आठौं महाधिवेशनको क्रममा छ । महाधिवेशनमा सैद्धान्तिक वैचारिक विषयमा छलफल जारी छ । यस महाधिवेशनले माओवादी आन्दोलनलाई अघि बढाउन नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

भीषण जनयुद्ध अन्त्य गरेर संसदीय अभ्यासमा आएको माओवादीले पहिलो प्रयासमै ऐतिहासिक सफलता पायो । तर, छोटो समयमै चरम संकटसमेत झेलिरहेको छ । यसरी अनेक चरण पार गर्दै संकट सामना गरिरहेको माओवादी आठौं महाधिवेशनसम्म आइपुग्दा जनयुद्ध थाल्ने कमाण्डहरुको स्मरण हुने गर्दछ ।

जनयुद्ध थाल्ने १९ कमाण्डर कता छन् ?
२०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा १९ जना नेता केन्द्रीय समितिमा थिए । ति मध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही वेपता पारिए भने कोही कृषी पेशामा संलग्न छन् ।

जनयुद्ध घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व.यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।

यि १९ कमाण्डरमध्ये आठ जना नेता माओवादी केन्द्रमै छन् । प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रमा हरिबोल गजुरेल, मातृका यादव, देव गुरुङ, फम्फा भुसाल, फणीन्द्र आचार्य रहेका छन् । अग्निप्रसाद सापकोटा अहिले सभामुख छन् । उनी माओवादी केन्द्रबाट सभामुख भएका हुन् । यादव माओवादीबाट विद्रोह गरेर केही समय आफ्नै नेतृत्वमा छुटै पार्टी गठन गरेर सक्रिय थिए । पछि पुनः माओवादीमै फर्किए ।

मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेका छन् । फरक मत राख्दै उनले छुटै पार्टी गठन गरेर अध्यक्ष भएका हुन् । वैद्य नेतृत्वको पार्टीमा ति १९ मध्येका हरिभक्त कँडेल प्रवक्ता छन् । सीपी गजुरेल र दिनेश शर्मा ‘सागर’ पनि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमै छन् ।

डा.बाबुराम भट्टराईले संविधान घोषणा पश्चता नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरे । अहिले जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षको रुपमा सक्रिय छन् ।

पोष्टबहादुर बोगटीको हृदयाघातका कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषी पेशामा सक्रिय छन् । नारायणप्रसाद शर्माले माओवादीबाट विद्रोह गरिसकेका छन् । एमसीसी विरोधी अभियानमा सक्रिय शर्मा छुटै राजनीतिक दल गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

बादल र रायमाझी एमालेमा छन् । एमालेको हालै सम्पन्न १०औं महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भएका छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपता पारिए ।

१९ सदस्यीयदेखि चार हजारसम्मको समिति
१९ जनाको केन्द्रीय समितिबाट जनयुद्ध सुरु गरेको माओवादीले शान्तिपूर्ण राजनीतिक अभ्यासको क्रममा चार हजार जनाको केन्द्रीय समिति समेत बनायो । त्यसो त जनयुद्धकै क्रममा पार्टीले सफलता प्राप्त गर्दै जाँदा कार्यकर्ताको संख्या बढेसँगै माओवादीले ९९ सदस्यीय समिति बनाएको थियो ।

माओवादीको केन्द्रीय सदस्यहरुको विवरण हेर्दा २०५२ सालमा जनयुद्ध थाल्नुअघि केन्द्रीय समितिमा १९ जना थिए । २०५५ सालको चौथो विस्तारित बैठकबाट ३५ सदस्यीय केन्द्रीय समिति बनेको थियो । त्यसबीचमा धेरै नेताहरु बढुवा भएर केन्द्रीय समितिमा आएका थिए ।

माओवादीले ०५८ सालपछि केन्द्रीय कमिटीको संख्या बढाउँदै लग्यो । त्यहाँदेखि यहाँसम्म हेर्दा माओवादीले १९ सदस्यीय, ३५ सदस्यीय, ९९ सदस्यीय, १२४ सदस्यीय, १ सय ५० सदस्यीय हुँदै ४ हजार जनाको केन्द्रीय समिति समेत बनाएको छ ।

अहिले माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय समिति २९९ सदस्यीय रहने उल्लेख छ । महाधिवेशन सुरु हुनुभन्दा अघि बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यी केन्द्रीय समिति बनाउँने निर्णय गर्यो । यद्यपि, महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढ्न सक्ने प्रवक्ता कृष्ण्बहादुर महरा बताउँछन् ।

केन्द्रीय नेताको बलिदान
जनयुद्धका क्रममा आठ जना केन्द्रीय सदस्यले बलिदानी दिए । एकजना केन्द्रीय सदस्य गिरफ्तारपछि वेपत्ता पारिए । केन्द्रीय नेताहरुमध्ये सुरेश वाग्ले, रीतबहादुर खड्का, नेपबहादुर केसी, शेरमान कुँवर, मोहनचन्द्र गौतम र किमबहादुर थापा राज्य पक्षबाट मारिए ।

त्यस्तै, केन्द्रीय सल्लाहकार तेजमान घर्तीले कपिलवस्तुमा आत्मघाती ग्रिनेट विस्फोटमा परी मरे । केन्द्रीय नेता यानप्रसाद गौतम ‘आलोक’ पार्टीको आन्तरिक हिरासतमा रहेका बेला सेनाद्वारा मारिए । केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने गिरफ्तारपछि वेपत्ता पारिए ।

कुन नेता कहिले केन्द्रीय सदस्य भए ?
जनयुद्धकै क्रममा विभिन्न समयमा केन्द्रीय समितिमा नेताहरु थपिए । अहिलेका धेरै युवानेता जनयुद्धका क्रममै केन्द्रीय समितिमा मनोनित भएका थिए । ०५५ सालमा चौथो विस्तारित बैठकबाट नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, चन्द्रप्रकाश खनाल बलदेव, बर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, शक्तिबहादुर बस्नेत, मणि थापा, रविन्द्र श्रेष्ठ केन्द्रीय समितिमा मनोनित भएका थिए । हेमन्तप्रकाश वली सदुर्शन र कृष्णबहादुर महरा २०५३ सालमै केन्द्रीय समितिमा मनोनित भइसकेका थिए ।

यसैगरी, २०५७ सालको सम्मेलनबाट देवेन्द्र पौडेल, हिसिला यमी, राम कार्की, धर्मेन्द्र बास्तोला, हितराज पाण्डे, नन्दकिशोर पुन पसाङ (हाल उपराष्ट्रपति), कुलबहादुर केसी सोनाम (हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री), खडगबहादुर विश्वकर्मा, दिनानाथ शर्मा केन्द्रीय समितिमा आएका हुन् ।

२०५९-०६० मा इन्द्रमोहन सिग्देल, गोपाल किराती, प्रभु साह, हितबहादुर तामाङ, नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’ लगायतका नेताहरु केन्द्रीय सदस्य भएका थिए ।

जनयुद्धकालीन ३५ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये १८ भन्दा बढी नेताहरुले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छोडिसेका छन् । केहीले छुटै पार्टी गठन गरेका छन् भने केही अर्कै पार्टीमा गइसकेका छन् ।

वैद्य, डा.भट्टराई, विप्लव, बादल, रायमाझी, किराती, भट्ट, विष्ट, सिग्देल, वली, बास्तोला, विश्वकर्मा, यमी, गजुरेल, कँडेल, साह लगायतका नेताहरुले माओवादी छोडिसकेका छन् ।

माओवादीमा एकता, विद्रोह र एकता
जनयुद्धदेखि यहाँसम्म आइपुग्दा विभिन्न चरणमा माओवादी विभाजित भयो । विद्रोह गरेर नयाँ पार्टी गठन नर्गे क्रम चल्यो । नयाँ पार्टी गठनको क्रम हेर्दा माओवादी आठ पटक विभाजन भयो । तर, अहिले विद्रोह गरेर बनेका धेरै पार्टी मुल पार्टीमै फर्किसकेका छन् ।

मुलधारको माओवादी प्रचण्ड आफैले नेतृत्व गरिरहेका छन् । माओवादी केन्द्रको दोस्रो वरियताका नेता वैद्यले नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेका छन् । वैद्य अध्यक्ष रहेको पार्टीमा सीपी गजुरेल, हरिभक्त कँडेल, दिनेश शर्मा ‘सागर’, इन्द्रमोहन सिग्देल लगायतका नेता छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गरेका छन् । विप्लव नेतृत्वको पार्टीमा हेमन्तप्रकाश वली सुदर्शन, धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरु छन् ।

मणि थापाले पनि माओवादीबाट विद्रोह गरी विगतमा छुटै पार्टी गठन गरेका थिए । पछिल्लो समय उनी पुन माओवादीमै फर्केका थिए । तर, अहिले एमालेको स्थायी कमिटीको सदस्य छन् ।

मातृका यादवले समेत विगतमा माओवादी परित्याग गरी छुटै पार्टी गठन गरेका थिए । तर पछि उनी पुनः माओवादीमै फर्किए । अहिले उनी प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रमा सक्रिय छन् ।

शान्ति प्रक्रिया पश्चात रविन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका थिए । पछि उनी एमालेबाट मन्त्री समेत भए । अहिले उनले नेकपा (बोलसेभिक) पार्टी गठन गरेका छन् । गोपाल किरातीले समेत माओवादी परित्याग गरेका छन् । उनी अहिले एककिृत नेकपा माओवादीका अध्यक्ष हुन् ।

नारायण शर्मा छुटै पार्टी गठन गर्ने तयारीमा छन् । बादल, रायमाझी, थापा, लेखराज भट्ट, साह लगायतका नेताहरु अहिले एमालेमा छन् ।

पूर्वमाओवादी एकताको चाहना
जनयुद्धको बलमा राज्यव्यवस्था नै बदल्ने वर्तमान व्यवस्थाका हिमायती माओवादी नेताहरु यतिखेर विभिन्न समूहमा विभाजित छन् । तर, पछिल्लो समय पूर्वमाओवादी एकताको विषयमा समेत बहस हुने गरेको छ । जनयुद्धका उपलब्धि रक्षा गर्ने सवालमा पूर्वमाओवादी एकता आवश्यक रहेको सबैले भन्दै आएका छन् तर एक हुन सकेका छैनन् ।

पछिल्लो घटनाक्रम हेर्दा विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमै फर्कने तयारीमा देखिन्छ । वैद्यले नेतृत्व गरिरहेको पार्टीका सीपी गजुरेल लगायतका नेता पनि पुरानै पार्टीमा फकर्न पक्षमा देखिन्छन् । तर, पूर्वमाओवादी एकताको सन्दर्भमा व्यवस्थित छलफल भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्