Logo
Logo
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन

प्रचण्डको राजनीतिक प्रतिवेदन कार्यान्वयनले पार्टी थप बलियो हुने प्रतिनिधिको विश्वास



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधनमा विभिन्न २५ समूह बनाई छलफल भएको छ ।

समूहगत छलफल गर्दै बुधबार समूहमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए । नेताहरु विभिन्न समूहमा सहभागी भएर छलफल गरिरहेको र आएको सुझावलाई समेटेर दस्तावेज परिमार्जनसहित पारित गरिने उनले बताए । दस्तावेजमा छलफल पश्चात नेतृत्व चयनको विषय अगाडि बढने उनले बताए ।

सुझाव पेश गर्नका लागि टोली नेतालाई १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको नेताहरुको बैठकले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको छ ।

बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्ने कार्यक्रम रहेको छ । छलफलका लागि माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समूह बनाएको छ ।

यस्तो छ नेताहरुको सुझाव
माओवादी नेता इन्द्र आङ्बोले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा राम्रो पक्षको उठान भएको बताए । दस्ताबेज आफैमा पूर्ण नभएको बताउँदै समूहबाट आएका सुझावहरु समेटेर पारित गरिने उनले बताए ।

वितिय एकाधिकार÷दलाल पूँजीबादको अन्त्य गर्दै समाजवाद स्थापनाका लागि देशको अर्थतन्त्र बलियो हुनुपर्ने आङबोको सुझाव छ । देशको अर्थतन्त्र बलियो बनाउनका लागि पर्यटन, कृषी लगायतका क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने उनको सुझाव छ ।

आयातलाई न्यूनिकरण गर्ने, निर्यातलाई बढाउँदै जाँदा राष्ट्रिय अर्थतन्त्र बलियो भई समाजवाद स्थापना गर्न सहज हुने उनले निष्कर्ष निकालेका छन् । समाजवादको आधार तयार गर्नका लागि शिक्षा, स्वास्थ्यका क्षेत्रमा राज्यले बढीभन्दा बढी लगानी गर्न आवश्यक रहेको उनले बताए । साथै राज्य सत्ता जनताको हातमा भएपछि समाजवाद स्थापना गर्न मद्धत पुग्ने सुझाव उनले राखेका छन् ।

यस्तै माओवादी नेता युवराज चौलागाईले अध्यक्ष प्रचण्डको प्रस्तावले माओवादीलाई जनताको बीचमा स्थापित गर्न मद्धत पुग्ने बताए । साथै सो राजनीतिक प्रस्ताव पार्टीले राम्रोसँग कार्यान्वयन गरेमा माओवादी जनताका बीचमा स्थापित हुने, पार्टी बलियो हुने, पुर्नजागरण हुने र थप शक्तिका साथ अगाडि बढ्न मद्धत पुग्ने चौलागार्इँले बताए ।

शान्तिपूर्ण प्रतिपस्पर्धाबाट समाजवादको स्थापनाको रणनीति ठिक भए पनि प्रतिक्रियावादी शक्तिले निषेध गर्न षडयन्त्र गरेमा शसक्त रुपमा अगाडि बढनुपर्ने उनले बताए ।

‘लक्ष्य स्पष्ट छ, विगतको कमजोरी नेतृत्वले स्वीकार गर्दै अगाडि बढ्ने बताउँदै गर्दा थप रणनीतिका साथ हामी अगाडि बढ्ने र समाजवाद स्थापनाका लागि सहज भएको छ’ चौलागाईँले भने ।

यस्तै विगतमा डा. बाबुराम भट्टराईले उठाएको एजेण्डा अहिले आएर ठिक भएको निष्कर्षमा नेतृत्व पुग्नुले विगतका कमजोरी स्वीकार गर्दै अगाडि बढेमा थप शक्ति आर्जन गर्न सकिने उनले बताए ।

सांगठनिक रुपमा पार्टी अब शसक्त रुपमा अगाडि बढ्ने छ । युवा नेतालाई नेतृत्वमा आउने प्रस्तावले पार्टीलाई थप बलियो बनाउन उर्जा थपिने उनको विश्वास छ । साथै चौलागार्इँले नेतृत्वलाई स्वेच्छाचारी नबन्न र सामूहिक निर्णयका आधारमा अगाडि बढनुपर्ने सुझाव दिएका छन् ।

‘दस्ताबेजमा राम्रो पक्षको उठान भएको छ । तर राम्रो कुरा लेखेर मात्रै नहुँदो रहेछ । कार्यान्वयन गर्न त चुनौतीपूर्ण छ । यद्यपी यसको कार्यान्वयन पक्ष राम्रो भयो भने माओवादी थप बलियो हुन्छ । त्यसैले कार्यान्वयन पक्ष राम्रो बनाउन हाम्रो दबाब रहन्छ’ चौलागाईँले भने ।

यस्तै माओवादीका अर्का नेता हसनजान अंसारीले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान संशोधन प्रस्ताव राम्रो भएको बताए । तर कार्यान्वयन गर्न चुनौती भए पनि पूर्ण कार्यान्वयनले माओवादी पार्टी जनताकाबीचमा पुनः थप शक्तिका साथ स्थापित हुने उनले बताए ।

मधेसको माग सम्बोधन नभएकै कारण फोरमको जन्म भएको बताउँदै उनले मधेसको माग सम्बोधन हुनुपर्ने बताए । माओवादी पार्टीले नै मधेसको माग उठाउँदै आएको उनले बताए । साथै विगतमा मधेसमा जनतान्त्रिकद्वारा हत्या गरिएका माओवादी साथीलाई शहिद घोषणा एवं क्षतिपुर्तिका लागि पहल गर्न अंसारीले सुझाव दिएका छन् ।

‘नेतृत्वमा पुग्नका लागि समावेशी चरित्रको विधान आउनु राम्रो हो । मधेसी, आदिवासी जनजाती, मुस्लिम, महिला, थारु लगायतकालाई नेतृत्वमा सहभागिता गराउनाले माओवादी पहिलो भन्दा थप बलियो हुनेमा कुनै शंका छैन् । यसलाई थप समावेशी बनाउन जरुरी रहेको छ’ अंसारीले भने ।

अंसारीले माओवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नमुना काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय तहमा माओवादीबाट निर्वाचित प्रतिनिधिले शिक्षा, स्वाथ्य लगायतका क्षेत्रमा अत्याधिक लगानी गरी समाजवादी स्थापनाका लागि आधार तयार गर्नमा चुकेको उनले बताए । नेतृत्वले यसबारेमा गम्भीर भएर कडाईँका साथ लागु गर्नुपर्ने सुझाव अंसारीले दिएका छन् ।

शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादको स्थापना सम्भव भएको अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेपछि नेताहरुले स्वागत गरेका छन् । राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवाद स्थापना हुने निष्कर्षमा पुगेको बताएका थिए । ०५२ साल १ फागुनदेखि सशस्त्र विद्रोहमा होमिएको माओवादीले शान्तिपूर्ण प्रस्तिपर्धाबाटै समाजवाद स्थापना गर्न सकिने निष्कर्षमा निकालेको छ ।

नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने प्रचण्डले जनाएका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि उनले उल्लेख गरेका छन् ।

प्रचण्डले शान्ति प्रक्रियामा आएसँगै कुनै छलफलबिनै ’प्रचण्डपथ’ स्थगित गर्नु कमजोरी भएको स्वीकार गरेका छन् । यद्यपी ‘प्रचण्डपथ’ व्यूत्याउँन नसकिने निष्कर्ष समेत उनले पेश गरेका छन् ।

नयाँ राजनीतिक विचार विकासका लागि ‘प्रचण्डपथ’ अनुभव र सन्दर्भ सामग्री बने पनि त्यसलाई नब्युँताइने निष्कर्ष उनको छ । पार्टीभित्र कतिपय नेताले अझै पनि ‘प्रचण्डपथ’ सान्दर्भिक र ब्युँताउने बताइरहँदा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् ।

‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ भन्ने शीर्षकमा वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गर्दै उनले समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख गरेका छन् ।

वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘पार्टी इतिहासको संक्षिप्त चर्चा’ शीर्षकमा’ इतिहासमा प्रचण्डपथको योगदान’का बारे चर्चा भएको छ ।

यसैगरी महाधिवेशनको बन्द सत्रमा विधान मस्यौदा समितिका संयोजक देव गुरुङले विधान संशोधनको प्रस्ताव पेश गर्दै समितिहरु समावेशी चरित्रको हुने उल्लेख गरेपछि नेताहरुले स्वागत गरेका छन् ।

गुरुङको प्रस्तावमा १५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति हुने प्रस्ताव गरेका छन् । अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित २९९ सदस्यीय केन्द्रीय समिति हुने गुरुङको प्रस्तावमा उल्लेख गरिएको छ ।

केन्द्रीय समितिमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

केन्द्रीय समितिको कुल सदस्य अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रस्ताव समेत आएको छ ।

प्रतिक्रिया दिनुहोस्