काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमा क्रान्तिकारी धार नभएको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) काठमाडौंमा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा क्रान्तिकारीको धार भुत्ते भइसकेको बताए । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन ।’
अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबीसमेत गरे । उनले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताए । उनले भने, ‘क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने त्यो पार्टी पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र देशलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको बताए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।














