काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ नेपाल प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तसँग समाचारको विषयलाई लिएर भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् ।

भोटाहिटीस्थित साइबर ब्युरोमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् भने पन्त जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् ।
प्रकाशित समाचारमा रास्वपा नेता पन्तको परिवारले धादिङको थाक्रे गाउँपालिका-१० का तिलकप्रसाद बिडारीको ४।५ रोपनी जग्गा हडपेको आरोप उल्लेख गरिएको थियो । उक्त समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसपछि श्रेष्ठले पनि सामाजिक सञ्जालमा पन्तले आफू विरुद्ध गरेको टिप्पणीलाई लिएर निवेदन दिएका थिए । दुवै पक्षका निवेदनमाथि छलफल गर्न प्रहरीले बोलाएको जनाएको छ ।
श्रेष्ठ र पन्तबीच करिब तीन घण्टा छलफल भएको थियो । छलफलपछि दुवै पक्षबीच मिलापत्रको कागज भएको र श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।
यस घटनाप्रति नेपाल पत्रकार महासङ्घले पनि आपत्ति जनाएको छ । महासङ्घले समाचारमा चित्त नबुझे स्थापित कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत समाधान खोज्नुपर्ने भन्दै पत्रकारलाई साइबर ब्युरोमा लगिएको घटनाले प्रेस स्वतन्त्रताको मान्यतामाथि प्रश्न उठाएको जनाएको छ । महासङ्घले प्रेस काउन्सिल नेपाललाई आफ्नो क्षेत्राधिकारअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ ।














